२९ पुस २०८१, सोमबार | Mon Jan 13 2025

नेपालमा कुनै सुरक्षा थ्रेट छैन, पुर्ननिर्माणको उदाहरण भिजिट नेपाल २०२० को आकर्षण : बच्चुनारायण श्रेष्ठ


१३ पुस २०७६, आइतबार  

0
Shares

नेपाल भ्रमण वर्ष २०२० शुरु हुनै लागेको छ । यसपटक सरकारले भ्रमण वर्षमा २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको छ । पर्यटनलाई समृद्धिको आधार बनाउने लक्ष्यका साथ शुरु हुन लागेको भ्रमण वर्षको तयारी कस्तो छ, साँच्चिकै लक्ष्य पुरा हुन्छ त ? यिनै विषयमा भ्रमण वर्ष २०२० सचिवालयका सदस्य सचिव बच्चुनारायण श्रेष्ठसँग एभरेस्ट टाइम्सका लागि नेत्र तामाङले गरेको कुराकानी :

 

भिजिट नेपाल २०२० नजिकिएको छ, कस्तो छ तयारी ?
उद्घाटनका तयारी पुरा भयो । जनवरी १ मा राष्ट्रपति विद्यादेवी भण्डारीबाट उद्घाटन हुन्छ । दशरथ रंगशालाबाट । व्यवस्थापनमा सेनाप्रहरीदेखि संस्कृतिक पक्षले जिम्मा लिइसेकेका छन् । हामीले यो जनवरी १ मा मात्र मनाउने हैन । वर्ष दिन मनाउने हो । संसारभरका मानिसलाई नेपाल भ्रमण वर्ष शुरु भयो भन्ने सन्देश दिनमात्र उद्घाटन हो । त्यसपछि देशविदेश सबै ठाउँमा यसको प्रचार हुनेछ ।

विश्वभर नेपाली छरिएका छन्, ती ठाउँमा कसरी हुँदैछ प्रचार ?
जहाँ जहाँ हाम्रा दूतावास छन् त्यहाँबाट हाम्रो शुभारम्भ हुन्छ । हरेक देशमा ७ तारिखमा उद्घाटन हुँदैन । राजदूतको संयोजनमा कार्यक्रम हुन्छन् ।

अमेरिकामा कहाँ कहाँ हुँदैछन् कार्यक्रम ?
अमेरिकाको राजदूतवासले तोकेका ठाउँमा हुन्छ । न्युयोर्कमा कन्सुलेट अफिसले एनआरएनसँग मिलेर जनवरीको २५ र २६ मा एउटा फेयर गर्ने कार्यक्रम तय गरेको छ । जनवरी २८ मा कन्सुलेट अफिस र नेपाल भ्रमण वर्ष मिलेर एउटा प्रचारप्रसार भव्य कार्यक्रम गर्दैछ ।

२०२० मा नेपालमा पर्यटक किन आउने ?
नेपालमा पर्यटनको विकास आर्थिक समृद्धिका लागि हो । त्यसैले यो भव्य रुपमा मनाउनुपर्छ । अर्को कुरा २०१५ को भूकम्पले जुन क्षति पुगेको छ । अहिले पुननिर्माण हुँदैछ । नेपाल बन्दैछ भन्ने सन्देश दिनका लागि पनि नेपाल आओस् भन्ने हाम्रो मुख्य चाहना हो । विनासकारी भूकम्प गए पनि विकाससँग जोड्न खोजेको हो । त्यस्तै फिल्म सुटिङको डेस्टिनेसनका लागि पनि राम्रो छ नेपाल ।

सफाइ र सुरक्षा छैन, त्यसैले पर्यटक भड्किरहेको छ भन्ने आरोप छ नि ?
हामीसँग सुरक्षाको थ्रेट छैन । १० वर्षे जनयुद्धमा पनि पर्यटकलाई असर परेको थिएन । अरु सुरक्षाको थ्रेट हुने कुरै छैन । गन्तव्यमा हुने दुर्घटनाका विषय छन् । तिनमा हामीले नियमन गर्नुपर्छ । कोही फस्ने । कोही हराउने । कोही लुटिएका छन् । यो न्युन दरमा भइरहेको छ । यसमा गाइड लिएर जाउ भनेर हामीले भन्नुपर्छ । अलिकति सचेत भएमा हामीलाई खासै समस्या हुँदैन ।
सफाईको कुरा छ । गन्तव्यमा त्यस्तो अप्ठेरो मान्नुपर्ने अवस्था अहिले छैन । पर्यटन क्षेत्रमा काम गर्नेहरु आफै पनि वातावरणप्रति सचेत छन् ।

उपत्यकाका सहरी क्षेत्र नै प्रदुषित देखिन्छ, होइन र ?
हामी निर्माण्कोका चरणमा छौ । राजनीतिको चरण पुरा भयो । अहिले आर्थिक संक्रमणको कुरा छ । अब आर्थिक विकासको चरण शुरु भएको छ । काठमाडौं निर्माणको चरणमा छ । यसलाई सुधार गर्ने कुरामा हामीले हेर्नैपर्छ । भिजिट नेपाल २०२० यस्ता विषयमा शुद्धीकरण गर्दै लाने प्रयासमा रहनेछौ ।

हवाई सुरक्षाका कुरा त गर्नै भएन नि ?
आइकाओले युरोपियन युनियनका कुरा आएका छन् । हाम्रा उडान धेरै सुराक्षित छन् । जिओलोजिकल कुराको अप्ठ्यारा त अरु देशमा पनि छ । विश्वका थुप्रै देशमा असुरक्षा छ । हामीले युरोपको उडान शुरु गर्न सक्नुपर्छ । पर्यटनमन्त्रीज्यु क्यानडामा भएको कार्यक्रममा आइकाओको कुरा लगिसक्नुभएको छ । यो विषय खुकुलो हुने क्रममा छ ।

पर्यटकीय क्षेत्र निर्माणाधीन छन्, पर्यटकले के हेर्ने ?
बनिरहेका सम्पदाहरु पुरा गर्नुपर्छ भन्ने हाम्रो सोच पनि हो । विश्व सम्पदा सूचीमा परेकाहरुलाई हिजो जस्तो थियो त्यस्तै मापदण्डमा निर्माण गर्नुपर्छ । त्यही खालका म्याटेरियल चलाउनुपर्दा केही समय लाग्ला । हामीले भूकम्पपछि के काम गरिरहेका छौ भन्ने हेर्न सक्छन् । हामीले दया र भिखको कुरा हैन । तर यी विषयलाई डिजास्टर टुरिजमका रुपमा पनि राख्न सकिन्छ । बैंककमा सुनामी गयो । यसले पर्यटक घट्ला भन्ने थियो । तर मानिसहरु के भएछ भनेर त्यो ठाउँमा भनेर झनै हेर्न गए । त्यसैले हामीसँग थुप्रै सम्पदा छन् नि ।

गुणस्तरीय पर्यटन भित्रिदैन नेपालमा, यो आरोप पहिलेदेखिकै हो, यसमा तपाईहरुको भनाई के हो ?
यो चुनौतिको विषय हो । नियमन गर्नुपर्छ । नीति निर्माण बलियो गर्नुपर्छ । खर्च अलि बढाउनुपर्छ । २०१७ मा ५४ डलर थियो । २०१८ मा ४४ डलरमा झ¥यो । पर्यटकको प्रतिव्यक्ति खर्च । पहिले भन्दा १० डलर घटेको छ । यसको खास कारण अस्वस्थ प्रतिस्पर्धा भएकै कारण भएको हो । फेक रेस्क्यु हरु यसकै कारण भएका हुन् । टुरिजम बढाउने तर क्वालिटी टुरिस्ट भित्र्याउन सकेन भने यो हाम्रो लागि घाटाको विषय हो ।
हामी यो विषयलाई महत्वका साथ अघि बढाएर लैजान्छौ । आफ्नो दायित्व प्रत्येक टुरिजम क्षेत्रमा काम गर्नुपर्छ । कोही कोही पर्यटककै भेषमा व्यापारी भएर आउने भन्ने कुरा छ । तिनमा हामी चनाखो हुनुपर्छ । निजी क्षेत्रदेखि सरकारले ध्यान दिनुपर्छ ।

यसपटक सिजनमा पर्यटक आएनन् भन्छन्, कसरी पुग्ला २०२० मा २० लाख ?
आएका छन् सन् २०१८ मा १२ लाख चानचुन पुगेको छ । २०१९ को ९ महिने अवधिमा १२ लाख बढी पुगिसकेको छ । वर्षभरमा १४ लाख त पुग्छ । यो फ्लो हेर्दा २०२० मा २० लाख पुग्छ भन्नेमा हामी ढुक्क छौ ।

एड्भन्चर मन पराउने रहेछन् धेरैले, २०२० को शुरुमै अफ सिजन छ, उत्साह कसरी भर्न सकिएला ?
नेपाल अल सिजन पर्यटन क्षेत्र हो । सुदुरपश्चिमको खप्तड नयाँ तरिकाले लाग्नुपर्छ । हिउँदमा हिमाल जान सक्दैन भन्ने छ । यसका लागि नयाँ तरिकाले जानुपर्छ । यो वर्षको नयाँ प्रडक्टमा काम गर्नुपर्छ । नेपाल फर अल सिजन ।
टेम्पल स्टे । होम स्टे । गुम्बा स्टेका कुराहरु पनि बनाएका छन् । लुम्बिनी र तिलौराकोटको कुरालाई अघि बढाउने कुरामा लागि परेका छौ ।जनवरीमा पर्यटन शुरु हुँदा धेरै नदेखिन सक्छ । तर, विस्तारै हुने हो नि ।

मधेश बेल्ट पर्यटनको आकर्षणको क्षेत्र नबन्दा पनि गाह्रो भएजस्तो लाग्दैन ?
हाम्रोमा परम्परा के भयो भने हिमाल जानेमात्र भयो । भारतीय पर्यटकहरु गर्मी छल्न नेपाल आउँछन् । विदेशी पर्यटक वाइल्ड लाइफदेखि लुम्बिनीसम्मै पुग्छन् । थारु संस्कृति अध्ययन गर्न त्यतै पुग्छन् । मिथिला संस्कृति अध्ययन गर्न त्यतै पुग्छन् । टि टुरिजममा झापालाई विकास गर्ने तयारी छ । तराईमा अलि कम नै हो । २०२० ले यसलाई पनि सम्बोधन गर्छ ।

विदेशमा बस्नेले पर्यटन वर्ष कसरी प्रचार गर्ने ?
एनआरएनएसँग सम्झौता भएको छ । एनआरएनएका पूर्वअध्यक्ष भवन भट्ट ग्लोबल कोअर्डिनेटर हुनुहुन्छ । उहाँहरुले हरेक देशमा नेपाल मेला पनि गर्दैहुनुहुन्छ । ‘एक एनआरएन एक विदेशी’ भन्ने नारा पनि उहाँहरुले बनाइसक्नुभएको छ । यसैले पक्कै पनि यसको प्रचार व्यापक हुन्छ ।

एक जना बराबर एक विदेशी, सक्ला त ल्याउन ?
सबैले नसक्ला । तर विदेशमा व्यापार गरिरहनुभएको कसैले ५ जना पठाउँलान् कसैले १० जना त पठाउँलान् नि । यसले त पक्कै पनि २० लाख पुग्न कुनै गाह्रो हुदैन नि । जापानमा नेपाली व्यापारीले चिट्ठा चलाउन शुरु गरेका छन् । नेपाल भ्रमणको एक जनालाई पर्दा परिवारको २ देखि ३ जना आउन सक्छन् । सम्भावना धेरै छन् ।

पर्यटकलाई आकर्षित गर्न २०२० पछि कसरी अघि बढ्छ सरकार ?
२०२० लाई एक आधार वर्ष हो । सम्भवत मध्यतिर एक दशकको घोषणा हुन्छ । हरेक वर्ष नयाँ थिममा पर्यटन वर्ष मनाउँछौ हामी । सिरिजका रुपमा जान सक्छ । २०३० सम्ममा प्रतिवर्ष ५० लाख सम्म पर्यटक तान्ने प्रयासमा पुग्छौ ।

प्रकाशित मिति : १३ पुस २०७६, आइतबार  ९ : ४९ बजे