४ फाल्गुन २०८१, आइतबार | Sun Feb 16 2025

२०३० सम्ममा प्रतिवर्ष ५० लाखसम्म पर्यटक तान्नेमा पुग्छौं-बच्चुनारायण श्रेष्ठ



भिजिट नेपाल २०२० को नेपालमा औपचारिक शुभारम्भ भएको पहिलो महिना बितेको छ । नेपालसँगै विदेशस्थित कूटनीतिक नियोगहरुमा भ्रमण वर्षको उद्घाटन गर्नेक्रम चलिरहेको छ । यही हप्ता अमेरिकामा पनि भ्रमण वर्ष एक विशेष समारोहबीच लन्च गरिएको छ । सन् २०१९ को तथ्यांक र पहिलो महिना नेपालमा पर्यटक आगमनको फ्लोलाई हेर्दा यो वर्ष नेपालमा २० लाख पर्यटक भित्रिनेमा कुनै शंका नरहेको सरकारी अधिकारी बताउँछन् ।

पर्यटनलाई नेपालको समृद्धिको आधार बनाउने लक्ष्यका साथ सुरु भएको भ्रमण वर्षका विषयमा भ्रमण वर्ष २०२० सचिवालय सदस्य सचिव बच्चुनारायण श्रेष्ठसँग एभरेस्ट टाइम्सले गरेको संवादको सम्पादित अंश ।

विश्वभर नेपाली छरिएका छन्, ती ठाउँहरुमा नेपाल भ्रमण वर्षको प्रचार कसरी हुँदैछ ?
गत जनवरी १ मा राष्ट्रपति विद्यादेवी भण्डारीले दशरथ रंगशालामा आयोजित विशेष समारोहबीच भिजिट नेपाल २०२० उद्घाटन गर्नुभएको थियो । भिजिट नेपाल यो वर्ष दिन मनाउने हो । संसारभरका मानिसलाई नेपाल भ्रमण वर्ष सुुरु भयो भन्ने सन्देश दिनलाई उद्घाटन कार्यक्रम राखिएको हो । त्यसपछि देशविदेश सबै ठाउँमा यसको प्रचार भइरहेको छ ।
जहाँ जहाँ हाम्रा दूतावास छन् त्यहाँबाट भ्रमण वर्षको शुभारम्भ हुन्छ । अमेरिकामा पनि यही हप्ता नेपाल भ्रमण वर्षको औपचारिक उद्घाटन गरिएको छ ।
अमेरिकामा कहाँ कहाँ हुँदैछन् कार्यक्रम ?
अमेरिकाको राजदूतवासले तोकेका ठाउँमा हुन्छ । न्युयोर्कमा कन्सुलेट अफिसले एनआरएनसँग मिलेर जनवरीको २५, २६ मा एउटा फेयर कार्यक्रम गरेको छ । जनवरी २८ मा कन्सुलेट अफिस र नेपाल भ्रमण वर्ष मिलेर एउटा प्रचारप्रसार भव्य कार्यक्रम भयो ।

२०२० मा नेपालमा पर्यटक किन आउने ?
नेपालमा पर्यटनको विकास आर्थिक समृद्धिका लागि हो । त्यसैले यो भव्य रुपमा मनाउनुपर्छ । अर्को कुरा २०१५ को भूकम्पले जुन क्षति पुगेको छ । अहिले पुनर्निर्माण हुँदैछ । नेपाल बन्दैछ भन्ने सन्देश दिनका लागि पनि नेपाल आओस् भन्ने हाम्रो मुख्य चाहना हो । विनासकारी भूकम्प गए पनि विकाससँग जोड्न खोजेको हो । त्यस्तै फिल्म सुटिङको डेस्टिनेसनका लागि पनि राम्रो छ नेपाल ।

सफाइ र सुरक्षा छैन, त्यसैले पर्यटक भड्किरहेको छ भनिन्छ नि ?
हामीसँग सुरक्षाको थ्रेट छैन । १० वर्षे जनयुद्धमा पनि पर्यटकलाई असर परेको थिएन । अरु सुरक्षाको थ्रेट हुने कुरै छैन । गन्तव्यमा हुने दुर्घटनाका विषय छन् । तिनमा हामीले नियमन गर्नुपर्छ । कोही फस्ने, कोही हराउने । कोही लुटिएका छन् । यो न्युन दरमा भइरहेको छ । यसमा गाइड लिएर जाउ भनेर हामीले भन्नुपर्छ । अलिकति सचेत भएमा हामीलाई खासै समस्या हुँदैन ।
सफाईको कुरा छ । गन्तव्यमा त्यस्तो अप्ठेरो मान्नुपर्ने अवस्था अहिले छैन । पर्यटन क्षेत्रमा काम गर्नेहरु आफै पनि वातावरणप्रति सचेत छन् ।

काठमाडौं उपत्यकाका सहरी क्षेत्र नै प्रदूषित देखिन्छ, होइन र ?
हामी निर्माणको चरणमा छौं । राजनीतिको चरण पूरा भयो । अहिले आर्थिक संक्रमणको कुरा छ । अब आर्थिक विकासको चरण सुरु भएको छ । काठमाडौं निर्माणको चरणमा छ । यसलाई सुधार गर्ने कुरामा हामीले हेर्नैपर्छ । भिजिट नेपाल २०२० भर नै यस्ता विषयमा शुद्धीकरण गर्दै लाने प्रयासमा रहनेछौं ।

हवाई सुरक्षाका कुरा त गर्नै भएन नि ?
आइकाओ युरोपियन युनियनका कुरा आएका छन् । हाम्रा उडान धेरै सुरक्षित छन् । जिओलोजिकल कुराको अप्ठ्यारा त अरु देशमा पनि छ । विश्वका थुप्रै देशमा असुरक्षा छ । हामीले युरोपको उडान सुरु गर्न सक्नुपर्छ । पर्यटनमन्त्रीले क्यानाडामा भएको कार्यक्रममा आइकाओको कुरा लगिसक्नुभएको छ । यो विषय खुकुलो हुने क्रममा छ ।

पर्यटकीय क्षेत्र निर्माणाधीन छन्, पर्यटकले के हेर्ने ?
बनिरहेका सम्पदाहरु पूरा गर्नुपर्छ भन्ने हाम्रो सोच पनि हो । विश्व सम्पदा सूचीमा परेकाहरुलाई हिजो जस्तो थियो त्यस्तै मापदण्डमा निर्माण गर्नुपर्छ । त्यही खालका म्याटेरियल चलाउनुपर्दा केही समय लाग्ला । हामीले भूकम्पपछि के काम गरिरहेका छौं भन्ने हेर्न सक्छन् । हामीले दया र भिखको कुरा हैन । तर यी विषयलाई डिजास्टर टुरिजमका रुपमा पनि राख्न सकिन्छ । बैंककमा सुनामी गयो । यसले पर्यटक घट्ला भन्ने थियो । तर मानिसहरु के भएछ भनेर त्यो ठाउँमा भनेर झनै हेर्न गए । त्यसैले हामीसँग थुप्रै सम्पदा छन् नि !

नेपालमा ‘गुणस्तरीय पर्यटक’ भित्रिँदैन भन्ने छ, यस विषयमा के भन्नुहुुन्छ ?
यो चुनौतिको विषय हो । नियमन गर्नुपर्छ । नीति निर्माण बलियो गर्नुपर्छ । खर्च अलि बढाउनुपर्छ । २०१७ मा ५४ डलर थियो । २०१८ मा ४४ डलरमा झ¥यो । पर्यटकको प्रतिव्यक्ति खर्च । पहिलेभन्दा १० डलर घटेको छ । यसको खास कारण अस्वस्थ प्रतिस्पर्धाले हो । फेक रेस्क्युहरु यसकै कारण भएका हुन् । टुरिजम बढाउने तर क्वालिटी टुरिस्ट भित्र्याउन सकेन भने हामी घाटा हुन्छ । हामी यो विषयलाई महत्वका साथ अघि बढाएर लैजान्छांै । आफ्नो दायित्व प्रत्येक टुरिजम क्षेत्रमा काम गर्नुपर्छ ।
कोही कोही पर्यटककै भेषमा व्यापारी भएर आउने भन्ने कुरा छ । तिनमा हामी चनाखो हुनुपर्छ । निजी क्षेत्रदेखि सरकारले ध्यान दिनुपर्छ ।

२०२० मा २० लाख पर्यटक नेपाल आउलान् त ?
सन् २०१८ मा १२ लाख चानचुन पुगेको छ । २०१९ मा पनि १२ लाख पर्यटक भित्रिएको हाम्रो अध्यागमन विभागले केही दिनअघि तथ्यांक सार्वजनिक गरेको छ । यो फ्लो हेर्दा २०२० मा २० लाख पुग्छ भन्नेमा हामी ढुक्क छौं ।

एड्भन्चर मन पराउने रहेछन् धेरैले, २०२० को सुरुमै अफ सिजन छ, उत्साह कसरी भर्न सकिएला ?
नेपाल अल सिजन पर्यटन क्षेत्र हो । सुदूरपश्चिमको खप्तड नयाँ तरिकाले लाग्नुपर्छ । हिउँदमा हिमाल जान सक्दैन भन्ने छ । यसका लागि नयाँ तरिकाले जानुपर्छ । यो वर्षको नयाँ प्रडक्टमा काम गर्नुपर्छ । नेपाल फर अल सिजन । टेम्पल स्टे । होम स्टे । गुम्बा स्टेका कुराहरु पनि बनाएका छन् । लुम्बिनी र तिलौराकोटको कुरालाई अघि बढाउने कुरामा लागि परेका छौं । जनवरीमा पर्यटन सुरु हुँदा धेरै नदेखिन सक्छ । तर, विस्तारै हुने हो नि !

मधेस बेल्ट पर्यटनको आकर्षणको क्षेत्र नबन्दा पनि गाह्रो भएजस्तो लाग्दैन ?
हाम्रोमा परम्परा के भयो भने हिमाल जानेमात्र भयो । भारतीय पर्यटकहरु गर्मी छल्न नेपाल आउँछन् । विदेशी पर्यटक वाइल्ड लाइफदेखि लुम्बिनीसम्मै पुग्छन् । थारु संस्कृति अध्ययन गर्न त्यतै पुग्छन् । मिथिला संस्कृति अध्ययन गर्न त्यतै पुग्छन् । टि टुरिजममा झापालाई विकास गर्ने तयारी छ । तराईमा अलि कम नै हो । यो वर्ष यसलाई पनि सम्बोधन गर्छ ।

विदेशमा बस्नेले पर्यटन वर्ष कसरी प्रचार गर्ने ?
एनआरएनएसँग सम्झौता भएको छ । एनआरएनएका पूर्वअध्यक्ष भवन भट्ट ग्लोबल कोअर्डिनेटर हुनुहुन्छ । उहाँहरुले हरेक देशमा नेपाल मेला पनि गर्दै हुनुहुन्छ । ‘एक एनआरएन एक विदेशी’ भन्ने नारा पनि उहाँहरुले बनाइसक्नुभएको छ । यसैले पक्कै पनि यसको प्रचार व्यापक हुन्छ ।

एक जनाबराबर नेपालीले एक विदेशी ल्याउन सक्ला त ?
सबैले नसक्ला तर विदेशमा व्यापार गरिरहनुभएको कसैले ५ जना पठाउलान्, कसैले १० जना त पठाउलान् नि ! यसले त पक्कै पनि २० लाख पुग्न कुनै गाह्रो हुँदैन । जापानमा नेपाली व्यापारीले चिट्ठा चलाएका छन् । नेपाल भ्रमणको एक जनालाई पर्दा परिवारको २ देखि ३ जना आउन सक्छन् । सम्भावना धेरै छन् ।

पर्यटकलाई आकर्षित गर्न २०२० पछि कसरी अघि बढ्छ सरकार ?
२०२० लाई एक आधार वर्ष हो । सम्भवतः मध्यतिर एक दशकको घोषणा हुन्छ । हरेक वर्ष नयाँ थिममा पर्यटन वर्ष मनाउँछौं हामी । सिरिजका रुपमा जान सक्छ । २०३० सम्ममा प्रतिवर्ष ५० लाखसम्म पर्यटक तान्ने प्रयासमा पुग्छौं ।

प्रकाशित मिति : २१ माघ २०७६, मंगलबार  १० : १७ बजे