सामाजिक सञ्जाल ट्वीटरको प्रमुख कार्यकारी अधिकृत (सीईओ) भएदेखि विवादमा पर्दै आइका इलन मस्कले राजीनामा दिने भएका छन् । बुधबार बिहान ट्वीट गर्दै मस्कले सीईओबाट राजीनामा दिने घोषणा गरेका हुन् ।
उनले सीईओका लागि अर्को व्यक्ति भेटिएसँगै राजीनामा दिने र आफूले सफ्टवेयर र सर्भर टिम हेर्ने मात्र हेर्ने बताएका हुन् । यसअघि मस्कले आफू भविष्यमा ट्वीटरको कार्यकारी प्रमुखका रूपमा रहने वा नरहने विषयमा मत दिन र उक्त मतको आफूले सम्मान गर्ने भन्दै प्रयोगकर्तालाई आग्रह गरेका थिए । ‘के म ट्वीटरको प्रमुख पदबाट हट्नुपर्छ?’ उनले ट्वीटर प्रयोगकर्तालाई जवाफका लागि ‘हो वा होइन’ मा क्लिक गर्न आग्रह गरेका थिए ।
त्यसमा एक करोड ७५ लाखभन्दा ट्वीटर प्रयोगकर्तामध्ये ५७.५ प्रतिशतले उनको विपक्षमा मतदान गरेका छन् भने ४२.५ प्रतिशतले पक्षमा मत दिएका छन् ।
मस्कले ट्वीटर प्रयोगकर्तालाई प्रतिद्वन्द्वी सामाजिक सञ्जालमा उनीहरूका खाताबारे प्रचारप्रसार गर्न प्रतिबन्ध लगाउने, पूर्व अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको ट्वीटर एकाउण्डमा लागेको प्रतिवन्ध फुकाउने, उच्च तहकादेखि आधा कर्मचारी कटौती गर्नेलगायतका काम गरेपछि अलोचना भइरहेको छ ।
कार निर्माता टेस्ला र रकेट फर्म स्पेसएक्सका मालिकसमेत रहेका मस्कले अक्टोबर २७ मा ट्वीटरको प्रमुख भएदेखि उनी बारम्बार विवादमा आएका छन् । त्यसयता उनले कम्पनीका आधा कर्मचारीलाई बर्खास्त गरिसकेका छन् । पहिले निःशुल्क रहेका सेवाका लागि पनि शुल्क लिने निर्णय गरेका छन्, अमेरिकाका पूर्व राष्ट्रपति डोनल्ड ट्रम्पको ट्वीटर एकाउन्ट खोलेका छन्, उनको अलोचना गर्ने पत्रकारलगायत केहीको एकाउण्टमा प्रतिबन्ध लगाएका छन् ।