२ आश्विन २०८१, बुधबार | Thu Sep 19 2024

फिव्नाको “भ्वाइस अफ इमिग्रेन्ट वीमेन जर्नल”को विमोचन



आदिवासी जनजाति महिला महासंघ अमेरिका ( फिव्ना ) ले अन्तरास्ट्रिय नारी दिवस २०२३ को अवसर पारेर “भ्वाइस अफ इमिग्रेन्ट वीमेन जर्नल”को विमोचन र अन्तरक्रिया कार्यक्रम गरेको छ । कार्यक्रमको प्रमुख अतिथि सुकु रूम्दाली राईले जर्नलको बिमोचन गरेकी थिइन् ।

संस्थाकी अध्यक्ष इन्दिरा चोङबाङले संस्थाको स्थापनाकाल देखि नै जर्नल प्रकाशन गर्ने संकल्प भएकोले लामो समयपछि एउटा सपना पुरा भएको जानकारी दिइन् । जर्नललाई पुस्तकको रुपमा ल्याउनका लागि गरिएको जर्नी अफ द जर्नलको बिषयमा बोल्दै अध्यक्ष चोङबाङले उक्त कार्य अत्यन्तै चुनौतिपूर्ण र कठिन भएपनि सबै सदस्य दिदीबहिनीहरुको एक्यवद्धता, प्रतिवद्वता र लगावका कारण सफल भएकोले बताइन् ।

उक्त कार्यमा संलग्न सम्पूर्ण टीम, कम्युनिटी लिडर, बिज्ञापन दिएर सहयोग पुर्‍याउने व्यवसायीलगायत सम्पूर्ण सहयोगी मनहरूप्रति आभार प्रकट गरिन् । त्यसैगरी उक्त कार्य प्रथम प्रयास भएकोले यसको कमीकमजोरीहरूलाई आउने दिनमा सुधार गर्नको लागि सम्पूर्ण सहभागीहरुलाई आग्रह पनि गरिन् ।

अन्तरक्रिया कार्यक्रममा प्रस्तोता डा. प्रोफेसर रेजिता नायरले मेन्टल हेल्थ र चाइल्ड साइकोलोजिका सम्बन्धमा आफ्नो प्रस्तुती राखेकी थिइन् भने प्रोफेसर लरेन याङले मोर्डन स्लेभरी एण्ड फोर्स लेबर सम्बन्धमा प्रस्तुति दिएकी थिइन् । कार्यक्रममा संस्थालाई स्थापनाकालदेखि नै हरेक क्षेत्रमा सहयोग पुर्‍याउने ब्यक्तिहरू नेपालको लागि सद्भावना पर्यटनदुत न्यूयोर्कका केशबराम राई, तामाङ सोसाइटी अफ अमेरिकाका पूर्व अध्यक्ष इन्द्र तामाङ, आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना) का पूर्व सभामुख बिनोद पोमो, किरात माङहिम माङखिमका अध्यक्ष दुर्गा सुब्बालाई सम्मान गरिएको थियो । त्यसैगरी नेपाली समाजमा सकारात्मक प्रभाव जमाउन सफल सामाजिक अभियन्ता नवराज केसी, उर्जाशिल युवा दिपक चौधरी र न्यूयोर्क स्टेटकी डाइरेक्टर अफ कम्युनिटी अफेयर डोल्मा लामालाई पनि हौसला स्वरूप सम्मानपत्र प्रदान गरिएको थियो ।

कार्यक्रममा बिभिन्न संघसंस्थाका प्रतिनिधिहरू सहभागी थिए । कार्यक्रममा संस्थाका पदाधिकारी तथा सदस्यसहित २० जनाले आजीवन सदस्यता लिएका थिए । आजीवन सदस्यहरुलाई दोसल्ला र प्रमाणपत्रका साथ सम्मान गरेका थिए ।

कार्यक्रममा संस्थाकी प्रमुख अतिथि सुकु राईले महिला र पुरूषबीचमा भएको सामाजिक विभेद रहेको उल्लेख गर्दै उन्मुलन गर्नका लागि नयाँ पीडिहरू एक हुनुपर्ने बताइन् ।

त्यस्तै संस्थाकी संस्थापक अध्यक्ष संगिनी मगरले हामी भन्ने भावनाले महिलालाई जहिले पनि अगाडि बढ्न हौसला दिएको बताउँदै संस्था स्थापनादेखिको संघर्षका कथाहरू पोखिन् । संस्थापक अध्यक्ष मगरले भने, “हामीले नगरे कसले गर्ने, त्यसैले हामी भन्ने भावनाको विकास गरौं ।”

अन्त्यमा यस संस्थालाई अघि बढाउन महत्वपूर्ण भूमिका खेल्ने व्यक्तिहरूले संस्थाको गोल्ड स्पोन्सरमा सद्भावना पर्यटनदूत तथा सामाजिक अभियन्ता केशवराम राई र तामाङ सोसाइटी अफ अमेरिकाका पूर्व अध्यक्ष तथा सामाजिक अभियन्ता इन्द्र तामाङ गोल्ड स्पोन्सर, फिप्नाका पूर्व सभामुख बिनोद पोमो र किरात माङहिम माङखिमका अध्यक्ष दुर्गा सुब्बा द्वयबाट सिल्भर स्पोनसर स्वरूप संस्थालाई हौसला प्रदान गरेको घोषणा अध्यक्ष चोङबाङले गरिन् । सम्पूर्ण उपस्थितलाई धन्यवाद तथा आभार ब्यक्त गर्दै अध्यक्ष चोङवाङले भविश्यमा पनि साथ सहयोग अपेक्षा राखेको बताइन् ।

प्रकाशित मिति : ७ चैत्र २०७९, मंगलबार  ४ : ४५ बजे