२० आश्विन २०८१, आइतबार | Sun Oct 6 2024

एनआरएनएलाई नागरिकता वितरण सुरु, महाधिवेशन सुरु



गैरआवासीय नेपालीलाई नागरिकता वितरण सुरु गरिएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) स्थापनाको २० वर्ष पुगेको अवसरमा मंगलबार गैरआवासीय नेपालीहरुलाई नागरिकता वितरण सुरु गरिएको हो ।

२०७२ को संविधानले कल्पना गरेको गैरआवासीय नेपालीलाई नागरिकता २०८० असोजबाट वितरण सुरु भएको छ । पहिलो नागरिकता पाउनेमा गैरआवासीय संघका अध्यक्षद्वय कुल आचार्य र डा. बद्री केसी रहेका छन् ।

सरकारले गैरआवासीय नेपालीलाई आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार हुनेगरी नागरिकता वितरण गरेको छ। तीन पुस्ते विवरण देखाएसँगै गैरआवासीय नेपालीले नागरिकता पाउन सक्ने कानुनी व्यवस्था गरिएको छ।

गैरआवासीय नेपालीको विश्व सम्मेलनलाई सम्बोधन गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले एक पटकका नेपाली विश्वका जुनसुकै देशमा पुगे पनि नेपाली नै हुने बताए । ‘नागरिकताको कथा छुट्टै छ। तर आजबाट नागरिकता पाउन सक्ने अवस्था बनेको छ,’ राष्ट्रपति पौडेलले भने।

संघीय संसदले पारित गरेको नागरिकता विधेयक तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले नगरेपनि राष्ट्रपति बन्नेबित्तिकै पौडेलले सो विधेयक प्रमाणीकरण गरेका थिए । त्यसपछि सरकारले नागरिकता नियमावली बनाएर वितरण थालेको हो ।

‘गैरआवासीय नेपालीको रुपमा पहिलो नागरिकता पाउँदा खुसी भएको छु,’ अध्यक्ष कुल आचार्यले भने, ‘एनआरएनए अभियानको महत्वपूर्ण उपलब्धि हो ।’

करिब ५० लाख गैरआवासीय नेपाली रहेको अनुमान गरिएको छ । त्यसमा १५ लाख बढीले विदेशको नागरिकता लिएको अनुमान छ । विदेशी नागरिकता लिएका नेपालीले मात्रै एनआरएनए नागरिकता पाउन सक्ने छन् ।

अध्यक्ष कुल आचार्यले नागरिकताको मागलाई सरकारले सम्बोधन गरेकोमा खुसी व्यक्त गरे। उनले अब गैरआवासीय नेपालीले पनि वंशजको आधारमा नागरिकता पाउने व्यवस्था गर्नु पर्ने बताए। उनले आफू जन्मे हुर्केको ठाउँको माटो बिक्री नगर्न पनि आग्रह गरे ।

एनआरएनएका कार्यकारी अध्यक्ष डा.बद्री केसीले एक पटकको नेपाली सधैंको नेपाली रहेको प्रमाणित हुनेगरी नागरिकता वितरण भएकोमा खुसी व्यक्त गरे ।

कार्यक्रममा राष्ट्रपति पौडेलले एनआरएनले नेपालको अर्थतन्त्र सन्तुलनमा राख्न सहयोग पुर्‍याउनु पर्ने बताए । नेपालको जलविद्युत विश्वमा निर्यात गर्न र नेपालमा विश्वभरबाट पर्यटक भित्र्याउन एनआरएनएले योगदान गर्न सक्ने उनको भनाइ थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै परराष्ट्रमन्त्री एनपी साउदले विदेशमा हासिल गरेको ज्ञान, सिप र लगानी नेपालको विकासमा महत्त्वपूर्ण हुने बताए ।

उनले एनआरएनहरुले विदेशी नियोगसँग सहकार्य गरी नेपालमा लगानी भित्र्याउन, पर्यटक भित्र्याउन, नेपाली वस्तु विदेशमा निर्यात गर्न र नेपालको गौरवगाथा विश्वभर फैलाउन सक्ने बताए ।

कार्यक्रममा गैरआवासीय नेपाली संघका संस्थापक उपेन्द्र महतोले राष्ट्र समृद्ध बनाउने उदेश्यले एनआरएनएको स्थापना भएको बताए। कुनै नेपाली मात्रै समृद्ध नभई देश नै समृद्ध आवश्यक रहेको बताए ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले २ दशकपछि परिणाम देखिने केही आयोजनाको सुरुवात भएको बताएका छन् । अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले एनआरएनएले नेपालमा अझै ठूलो परियोजना सञ्चालन गर्न आवश्यक रहेकोमा जोड दिए ।

सरकारले गैरआवासीय नेपालीलाई नागरिकता वितरण थालेकोमा धन्यवाद व्यक्त गर्दै उनले लगानीको लागि कुनै अप्ठेरो सिर्जना भए सहजिकरण गर्ने बताए ।

एनआरएनएको स्थापना २००३ अक्टोबरमा भएको थियो । ा हाल विश्वभरका ८७ देशमा शाखा रहेको छ । अधिवेशनमा ५९ देशका ४ हजार २२७ प्रतिनिधि सहभागी छन् । काठमाडौंमा उपस्थित प्रतिनिधिले मतदान स्थलमै उपस्थित भएर भोट गर्ने छन् भने विदेशमा रहेका प्रतिनिधिले अनलाइानमार्फत मतदान गर्न सक्छन् ।

एनआरएनएको स्थापना २००३ अक्टोबरमा भएको थियो । ा हाल विश्वभरका ८७ देशमा शाखा रहेको छ । अधिवेशनमा ५९ देशका ४ हजार २२७ प्रतिनिधि सहभागी छन् । काठमाडौंमा उपस्थित प्रतिनिधिले मतदान स्थलमै उपस्थित भएर भोट गर्ने छन् भने विदेशमा रहेका प्रतिनिधिले अनलाइानमार्फत मतदान गर्न सक्छन् ।

प्रकाशित मिति : ३० आश्विन २०८०, मंगलबार  १० : ५३ बजे