२६ मंसिर २०८१, बुधबार | Thu Dec 12 2024

एप्पलले बेच्यो सबैभन्दा धेरै स्मार्टफोन, एकै वर्षमा २३ करोड ४६ लाख बिक्री



स्मार्टफोनको विश्व बजारको दौडमा एप्पलले पहिलो स्थान बनाएको छ । एप्पल गएको बर्ष सबैभनन्दा धेरै स्मार्टफोन विक्री गर्ने कम्पनी बनेको छ । विगत तेह्र वर्षदेखि स्मार्टफोन बजारमा कोरियाली ब्रान्ड सामसङको बर्चस्वलाई एप्पलले तोडेको हो ।

इन्टरनेसनल डाटा कर्पोरेसन (आईडीसी) का अनुसार सन् २०२३ मा एप्पलले २३ करोड ४६ लाख स्मार्टफोन बेचेको थियो भने सामसङले २२ करोड ६६ लाख वटा बेचेको थियो ।

स्मार्टफोन बजारमा कुल २०.१ प्रतिशत हिस्सासहित हाल एप्पल सबैभन्दा अगाडि छ । पछिल्लो समय धेरै प्रयोगकर्ताहरूले महँगा फोनहरू किनिरहेको र पुराना फोन बेचेर नयाँ लिने सुविधाका कारण एप्पलको बजार बढेको बताइएको छ । पुरानो दिएर नयाँ लिने ‘एक्सचेन्ज अफर’ सँगै ब्याजरहित किस्ता सुविधाजस्ता पहलका लागि एप्पलको तारिफ हुने गरेको छ ।

आईडीसीको रिपोर्टमा १९.४ प्रतिशत बजार हिस्सासहित सामसङ दोस्रो स्थानमा छ भने चिनियाँ फोन निर्माता साओमी, ओप्पो र ट्रान्सियन त्यसपछि रहेका छन् । गत वर्ष विश्वभर १ अर्ब २० करोड स्मार्टफोन बिक्री भएका थिए । यो सन् २०२२ को तुलनामा ३ प्रतिशतले कम हो भने पछिल्लो दशकको सबैभन्दा कम संख्या रहेको बीबीसीले उल्लेख गरेको छ । आर्थिक मन्दीका कारण स्मार्टफोन बजार प्रभावित भएको थियो ।

प्रकाशित मिति : ३ माघ २०८०, बुधबार  ५ : ४८ बजे