नेपाली हिन्दु नारीहरुको महान पवित्र पर्व हरितालिका तीजको अवसर पारेर अमेरिकाको न्यूयोर्कमा दरखाने कार्यक्रम आयोजना गरिएको छ ।
गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् अमेरिका, न्युयोर्क च्याप्टरले फ्रेण्डस् अफ नुवाकोट इन् न्युयोर्क अमेरिका, बाग्लुङ सेवा समाज अमेरिका, प्रवासी नेपाली एकता मञ्च, नेपाली अमेरिकन कलाकार संघ,धादिङ नेपाली समाज अमेरिका र काभ्रे अमेरिका कल्याणकारी समाज समाजसँगको सहकार्यमा आयोजित संयुक्त तीज दरखाने कार्यक्रममा १५०० भन्दा बढि आमा तथा दिदीबहिनीहरूको सहभागिता थियो ।

गत आइतबार सेप्टेम्बर १ तारिख साँझ ६ बजेदेखि १२ बजेसम्म दिव्यधाम मन्दिरमा कार्यक्रम आयोजना गरिएको थियो । न्युयोर्कमा बर्षेनि मनाउँदै आइरहेको अमेरिकाको सबैभन्दा ठुलो तीज कार्यक्रम यसवर्ष पनि एनआरएनए न्युयोर्क च्याप्टरको तर्फबाट महिला उपाध्यक्ष लक्ष्मी थापाले संयोजन गरेकी थिइन् । कार्यक्रममा दिदीबहिनीहरूको बृहत् उपस्थितिले दिव्यधाम मन्दिरको बेसमेंट र मन्दिरको हल भरिभराउ भएको थियो ।
तीजको नाचगान, दर खुवाउने र शुभकामना आदानप्रदान भएकोले छोटो औपचारिक कार्यक्रमको अध्यक्षता एनआरएनए न्युयोर्क च्याप्टरका कार्यवाहक अध्यक्ष एवं उपाध्यक्ष छिरिङ शेर्पाले गरेका थिए । प्रमुख अतिथिको रूपमा उपवाणिज्यदूत श्रीमती संगीता न्यौपानेले कार्यक्रमा उपस्थित सबै आमा तथा दिदीबहिनीलाई शुभकामना व्यक्त गरिन् । औपचारिक कार्यक्रम महिला सचिव गीता अधिकारीले चलाएकी थिइन् भने तीज कार्यक्रमको आर्थिक संयोजकमा कोषाध्यक्ष देवेन्द्र लामाले गरेका थिए ।
यस कार्यक्रममा हरितालिका तीज नारीहरूको पवित्र पर्वको अवसर पारेर कार्यक्रममा केही सामाजिक व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो । त्यसैगरि कार्यक्रममा भाइबहिनीहरूले नृत्यका साथ समाजको अहिलेको जल्दोबल्दो घटनालाई लिएर जीवन्त अभिनय गरेका थिए ।










