५ बैशाख २०८२, शुक्रबार | Fri Apr 18 2025

पछि हटे ट्रम्प, क्यानडा र मेक्सिकोमा लगाइएको भन्सार शुल्क फेरी एक महिना स्थगन



अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडा र मेक्सिकोबाट आयात गरिने सामानहरूमा लगाइएको नयाँ भन्सार शुल्कलाई फेरी स्थगित गरेका छन् । यो यस हप्ता लागू गरिएका शुल्कहरूको दोस्रो पटक समायोजन गरिएको हो । उनको नयाँ भन्सार लगाउने कार्यले व्यापारिक अस्थिरता बढाइरहेको थियो र वित्तीय बजारहरूलाई चिन्तित बनाइरहेको थियो ।

ट्रम्पले क्यानडा र मेक्सिकोबाट आयात हुने सामानमा लगाइएको २५% भन्सार शुल्क अस्थायी रूपमा स्थगित गर्ने आदेशमा हस्ताक्षर गरेका छन् । यसअघि पनि उनले एक महिना स्थगन गरेका थिए ।

मेक्सिकोकी राष्ट्रपति क्लाउडिया सेइनबाउमले ट्रम्पलाई उक्त स्थगतनका लागि धन्यवाद दिएकी छन् । त्यस्तै क्यानडाका अर्थमन्त्रीले अमेरिकी उत्पादनहरूमा प्रतिशोधात्मक शुल्क लगाउने योजनालाई आफुहरुले पनि स्थगित गर्ने बताएका छन् ।

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले बिहीबार ट्रम्पसँग टेलिफोन वार्ता भएको र यो विषयमा छलफल भएको बताएका थिए । अमेरिकी तथा क्यानडेली मिडिया रिपोर्ट अनुसार वार्ताको क्रममा ट्रम्पले अशिष्ट भाषा प्रयोग गरेका थिए ।

ट्रुडोले भने, “हाम्रो मुख्य उद्देश्य यी सबै शुल्कहरू हटाउनु हो, तर व्यापार युद्ध निकट भविष्यमा पनि जारी रहने देखिन्छ ।”

सेइनबाउमले भने, “हामीले ट्रम्पसँग उत्कृष्ट र सम्मानजनक वार्ता गरेका छौँ । अब हामी मेक्सिकोबाट अमेरिका जाने अवैध ओपिओइड (फेन्टानिल) नियन्त्रण गर्न र हतियार तस्करी रोक्न संयुक्त रूपमा काम गर्नेछौँ ।”

छुट अमेरिकी-मेक्सिको-क्यानडा व्यापार सम्झौता (यूएसएमसीए) अन्तर्गत आयात गरिएका सामानहरूमा लागू हुनेछ । यस अन्तर्गत टेलिभिजन, एयर कन्डिसनर, एवोकाडो र मासुजस्ता वस्तुहरू अमेरिका भित्रिन्छन् ।

त्यस्तै, अमेरिकी किसानहरूलाई आवश्यक पर्ने मल उत्पादनमा प्रयोग हुने ‘पोटास’ नामक तत्वमा लगाइएको शुल्क २५% बाट घटाएर १०% गरिएको छ । तर, ह्वाइट हाउसका अनुसार मेक्सिकोबाट आयात हुने करिब ५०% र क्यानडाबाट आउने ६२% वस्तुहरू अझै पनि शुल्कको दायरामा छन् ।

ट्रम्प प्रशासनले आगामी अप्रिल २ तारिखमा अन्य देशहरूमाथि ‘पारस्परिक’ शुल्क लगाउने योजना सार्वजनिक गर्ने बताएको छ । यस व्यापार तनावका कारण अमेरिकी शेयर बजार प्रभावित भएको छ ।

ट्रम्पले शुल्कहरू समायोजन गर्दा शेयर बजारको असरको चिन्ता नरहेको बताएका छन् । “यो बजारका कारण गरिएको होइन । दीर्घकालीन रूपमा अमेरिका बलियो बन्नेछ,” उनले भनेका छन् ।

क्यानडाको ओन्टारियो प्रान्तका प्रिमियर डग फोर्डले ट्रम्पको पछिल्लो कदमलाई ‘केही समयका लागि मात्र राहत दिने’ बताएका छन् । तर, अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले भने ‘प्रतिशोधात्मक शुल्क व्यापार वार्ताका लागि हानिकारक हुने’ बताएका छन् ।

अमेरिकाले शुल्क बढाउँदा उपभोक्ताहरूलाई असर पर्ने चेतावनी अर्थशास्त्रीहरूले दिएका छन् । ट्रम्पले अमेरिकी उद्योगको संरक्षण गर्न शुल्क बढाएको बताइरहे पनि यसले अमेरिका, क्यानडा र मेक्सिको तीनवटै देशको अर्थतन्त्रलाई असर गर्ने अनुमान गरिएको छ ।

व्यापार विश्लेषकहरूका अनुसार अमेरिकामा दैनिक झन्डै १ अर्ब डलरको व्यापार शुल्क छुटबिना भित्रिन्छ, तर नयाँ शुल्कले यो लागत बढाउनेछ ।

केही उद्योगपतिहरूले मूल्य समायोजन गरिरहेको बताएका छन् । अमेरिकी ट्रेलर निर्माता कम्पनी बेनलीका प्रमुख ग्रेगरी ब्राउनका अनुसार ट्रम्प प्रशासनको व्यापार नीतिका कारण उनले गत पाँच हप्तामा पटक–पटक मूल्य समायोजन गर्नुपरेको बताए । उनले भने, “अहिलेसम्म ग्राहकहरूले उच्च मूल्य तिर्न स्वीकार गरिरहेका छन्, जुन अमेरिकी अर्थतन्त्र अझै मजबुत रहेको संकेत हो ।”

प्रकाशित मिति : २३ फाल्गुन २०८१, शुक्रबार  ५ : २४ बजे