२८ फाल्गुन २०८२, बिहिबार | Thu Mar 12 2026

रवीन्द्र मिश्र थुनामुक्त : सर्वोच्चको आदेशमा तीन प्रमुख आधार



राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई सर्वोच्च अदालतले थुनामुक्त गर्न आदेश दिएको छ । गत चैत १५ गते काठमाडौंको तीनकुनेमा राजावादी प्रदर्शन हिंसात्मक बनेपछि प्रहरीले उनलाई सोही दिन पक्राउ गरेको थियो । यता, पक्राउ परेका ५० दिनपछि सर्वोच्चको आदेशमा उनी रिहा भएका छन् ।

मिश्रलाई थुनामुक्त गर्ने आदेश सर्वोच्च अदालतका न्यायाधीशद्वय कुमार चूडाल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले दिएको हो । आदेशमा मुख्यतः तीन आधार प्रस्तुत गरिएका छन् । 

वैशाख १० गते काठमाडौं जिल्ला अदालतले मिश्रलाई हिरासतमा राख्न अनुमति दिँदा आवश्यक प्रमाणहरू संकलन भइसकेको जनाउँदै हाजिरी जमानीमा छोड्न सकिने तर्क गरिएको थियो । सर्वोच्चले यही आदेशलाई आधार मानेको देखिएको छ ।

त्यसै गरी अदालतले हालसम्मको अनुसन्धान अवस्थाले अधिकांश प्रमाणहरू संकलन भइसकेको देखिएको उल्लेख गरेको छ । बाँकी प्रमाण संकलन गर्नका लागि मिश्रलाई हिरासतमै राखिरहन आवश्यक नभएको ठहर गरिएको छ ।

सर्वोच्चले मिश्रलाई थुनाबाहिर राखेर पनि आवश्यक अनुसन्धान अघि बढाउन सकिने अवस्था रहेको औंल्याएको छ । मुद्दा चल्ने अवस्था आएमा वा थप बुझ्नुपर्ने भएमा प्रहरीलाई सहयोग गर्ने शर्तमा उनलाई रिहा गर्न आदेश दिएको हो ।

सर्वोच्चको आदेशमा भनिएको छ, “निज निवेदकसँग सम्बन्धित अधिकांश प्रमाण संकलनको कार्य सम्पन्न भइसकेको देखिएको, थप प्रमाण संकलन गर्नुपर्ने भए सो बमोजिम संकलन गर्न पनि नसकिने अवस्था नरहेको तर निजलाई हिरासतमै राख्नुपर्नेसम्मको अवस्था नदेखिँदा… थुनाबाट मुक्त गरिदिनू।”

मिश्रका कानुन व्यवसायीहरूले उनलाई राजनीतिक आस्थाका आधारमा थुनामा राखिएको तर्क गरे पनि सर्वोच्चले सो दाबीमाथि स्पष्ट टिप्पणी गरेको छैन। बरु अनुसन्धान र प्रमाण संकलनको अवस्था विश्लेषण गर्दै थुनामुक्त गर्न आदेश दिएको छ ।

रिहा भएपछि मिश्रले संक्षिप्त प्रतिक्रिया दिँदै भने, “तीनकुनेमा नसोचेको घटना भयो ।” घटनामा उनी सहभागी भए वा भिडलाई उक्साए भन्ने आरोप भने छानबिनको क्रममा नै रहेको प्रहरीले जनाएको छ ।

चैत १५ गतेको घटनामा दुर्गा प्रसाईलाई ‘जनकमान्डर’ बनाएर गरिएको प्रदर्शन हिंसात्मक बनेको थियो ।  प्रदर्शनमा २ जनाको मृत्यु भएको थियो भने निजी सम्पत्तिमा आगजनी, तोडफोड र लुटपाटसमेत भएको थियो। राप्रपाका धवलशमशेर राणासहितका नेताहरूको भिड उत्तेजित पार्ने भिडियोसमेत सार्वजनिक भएको थियो।

राप्रपाकै महामन्त्री धवलशमशेर राणा वैशाख ७ गते नै हाजिरी जमानीमा छुटेका छन् भने दुर्गा प्रसाईसहित ५२ जना अझै प्रहरी हिरासतमा छन् । एक सयभन्दा बढी पक्राउ परेकामध्ये केहीलाई सामान्य सोधपुछपछि छाडिएको प्रहरीले जनाएको छ। मिश्रविरुद्ध आपराधिक उपद्रव, राज्यविरुद्धको कसुर र संगठित अपराधको अभियोगमा मुद्दा चलाउने तयारी रहेको स्रोतले जनाएको छ।

प्रकाशित मिति : ४ जेष्ठ २०८२, शनिबार  १२ : ३२ बजे