रूसले शुक्रबार बिहान युक्रेनको राजधानी किभसहित लुत्स्क र टेर्नोपिल क्षेत्रमा ठूलो संख्यामा ड्रोन र मिसाइल आक्रमण गरेको छ । बीबीसीका अनुसार राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले हमलामा कम्तीमा ३ जनाको मृत्यु भएको छ भने ४९ भन्दा बढी घाइते भएको बताएका छन् ।
रूसी रक्षा मन्त्रालयले आक्रमणलाई “किभ शासनद्वारा गरिएको आतंकवादी कार्यको जवाफ” भन्दै सैन्य ठेगानाहरूलाई निशाना बनाएको दाबी गरेको छ । मन्त्रालयले “हवाई, समुद्री र स्थल माध्यमबाट लामो दुरीका हतियार र आक्रमणकारी ड्रोन प्रयोग गरिएको” जनाएको छ ।
राजधानी किभमा रहेका बासिन्दाहरूले रातभर भूमिगत आश्रयस्थलमा समय बिताएका थिए । केही स्थानमा घर, विद्यालय र सरकारी भवनहरूमा क्षति पुगेको छ । किभका मेयर भिटाली क्लिट्स्कोले चार जनाको मृत्यु पुष्टि गरे पनि राष्ट्रपति जेलेन्स्कीले तीन जना आपतकालीन सेवा कर्मचारीको मृत्यु पुष्टि गरेका छन् ।
किभको आवासीय क्षेत्रमा क्षति पुग्दा मेट्रो रेल सेवा पनि अवरुद्ध भएको थियो । शहरभर ठूलो संख्यामा ड्रोनहरूको गुन्जन, गोलीबारी र बम विस्फोटका आवाजले रात त्रासदीपूर्ण बनाएको थियो ।
यो आक्रमण युक्रेनले गत साता गरेको लामो दूरीको ड्रोन हमलाको प्रत्युत्तरका रूपमा आएको बताइएको छ । युक्रेनी गुप्तचर निकाय एसबीयूद्वारा सञ्चालन गरिएको ‘स्पाइडर वेब’ अपरेशनमा कम्तीमा ४० रूसी सैन्य विमानलाई निशाना बनाइएको थियो । राष्ट्रपति जेलेन्स्कीका अनुसार सो अपरेशनमा ११७ ड्रोन प्रयोग गरिएका थिए र रूसका ३४% क्रुज मिसाइल बोक्ने एयरक्राफ्टहरूमा असर पुगेको थियो ।
राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पसँगको फोन कुराकानीमा “युक्रेनको आक्रमणको शक्तिशाली जवाफ दिने” चेतावनी दिएका थिए । ट्रम्पले भने “यदि दुई हप्ताभित्र पुटिनले वार्ता गम्भीरताका साथ नगरे भने अमेरिकाको धारणा बदलिने” बताएका थिए ।
टेर्नोपिलमा सैन्य प्रमुख व्याचेस्लाभ नेगोदाले यसलाई “क्षेत्रको अहिलेसम्मकै सबैभन्दा ठूलो हवाई आक्रमण” भनेका छन् । मेयर इगोर पोलिस्चुकका अनुसार पाँच जना घाइते भएका छन् भने घर, विद्यालय र सरकारी भवनहरूमा क्षति पुगेको छ ।
लुत्स्कमा पनि १५ ड्रोन र ६ मिसाइलमार्फत आक्रमण गरिएको र पाँच जना घाइते भएको जनाइएको छ । रूसी रक्षा मन्त्रालयका अनुसार युक्रेनी पक्षले रातभर १७४ ड्रोन प्रहार गरेको र तीमध्ये धेरैलाई रूस र क्राइमियामा खसालिएको छ । ब्ल्याक सीमा युक्रेनी नेप्च्युन एन्टी सिप मिसाइलहरू पनि रोकिएको दाबी गरिएको छ ।