सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गरेका छन् ।
भारतीय प्रधानमन्त्री मोदीले भेटपछिको तस्बिर सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गर्दै नेपालसँगको सम्बन्धलाई थप सुदृढ बनाउन भारत प्रतिबद्ध रहेको बताएका छन् ।
प्रधानमन्त्री मोदीले साझा र समृद्ध भविष्य निर्माणका लागि मिलेर काम गर्ने इच्छालाई स्वागत गरेको उल्लेख गर्दै नेपाल भारतको ‘नेबरहुड फर्स्ट’ (छिमेकी पहिलो) नीतिअन्तर्गत प्राथमिक साझेदार रहेको बताएका छन् ।
“हाम्रो छिमेकी पहिलो नीति अन्तर्गत नेपाल एक प्राथमिकता साझेदार हो। हामी हाम्रा दुई देशबीचको विशेष र बहुआयामिक सम्बन्धलाई अझ उचाइमा पुर्याउन नयाँ सरकारसँग सहकार्य गर्न तत्पर छौं,” मोदीले सामाजिक सञ्जालमा लेखेका छन् ।
भारत भ्रमणमा रहेका सभापति लामिछानेले यसअघि मंगलबार भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष नितिन नवीनसँग भेटवार्ता गरेका थिए। उनले भाजपा मुख्यालयको समेत अवलोकन गरेका थिए ।
त्यसै दिन लामिछानेले भारतीय गृहमन्त्री अमित शाह तथा विदेशमन्त्री एस. जयशंकरसँग पनि छुट्टाछुट्टै भेटवार्ता गरेका थिए। भेटघाटका क्रममा नेपाल–भारत सम्बन्ध, आपसी सहकार्य र द्विपक्षीय हितका विषयमा छलफल भएको जनाइएको छ ।
सोमबार भारत पुगेका लामिछाने २२ गते नेपाल फर्कने कार्यक्रम रहेको छ। उनको भ्रमणलाई नेपाल–भारत राजनीतिक सम्बन्ध र दुई देशबीचको सहकार्यलाई थप सुदृढ बनाउने प्रयासका रूपमा हेरिएको छ ।








