३० जेष्ठ २०८३, शनिबार | Sat Jun 13 2026

भारतबाट अब ५०० रुपैयाँको सामान ल्याउन पाउने



सरकारले भारतबाट नेपाल आउँदा झिटीगुन्टाअन्तर्गत ल्याउन पाइने सामानको मूल्य सीमा बढाएको छ । नयाँ आर्थिक विधेयकमार्फत भारतबाट नेपाल प्रवेश गर्ने यात्रुले ५ सय रुपैयाँसम्मका सामान भन्सार नतिरी ल्याउन पाउने व्यवस्था गरिएको हो । यसअघि १ सय रुपैयाँभन्दा बढी मूल्यका सामान ल्याउँदा भन्सार महसुल तिर्नुपर्ने प्रावधान थियो ।

सीमावर्ती क्षेत्रमा सर्वसाधारणले भारतबाट दैनिक उपभोग्य सामग्री ल्याउँदा १ सय रुपैयाँभन्दा बढी मूल्यका सामानमा भन्सार असुल गर्न थालेपछि व्यापक विरोध भएको थियो । सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत उक्त सीमा पाँच गुणाले बढाएर ५ सय रुपैयाँ पुर्‍याएको हो ।

सरकारले भारतमा अध्ययनरत नेपाली विद्यार्थीलाई पनि राहत दिएको छ । अब उनीहरूले साथमा ल्याउने वा लैजाने एक थान ल्यापटप, ट्याबलेट वा कम्प्युटरमध्ये कुनै एकमा भन्सार महसुल लाग्ने छैन ।

अर्थ मन्त्रालयले सार्वजनिक गरेको नयाँ व्यवस्थाअनुसार विदेशमा स्थायी बसोबास गरी नेपाल फर्किने नेपाली नागरिकले व्यक्तिगत प्रयोगका अधिकांश सामान महसुल छुटमा ल्याउन पाउनेछन् । प्रयोग गरिएका लुगाफाटा, घरायसी सामान, औषधि, शारीरिक अशक्तले प्रयोग गर्ने सहायक सामग्री, तोकिएको परिमाणसम्मका सुन तथा चाँदीका गहना, एक थान ल्यापटप वा कम्प्युटर, घडी, क्यामरा र मोबाइल फोनमा भन्सार छुट दिइने भएको छ ।

वैदेशिक रोजगारीमा श्रम स्वीकृति लिएर लगातार १२ महिना काम गरी फर्किएका नेपालीले ६५ इन्चसम्मको एक थान टेलिभिजन पनि भन्सार छुटमा ल्याउन पाउने भएका छन् । यो सुविधा भने एक पटकका लागि मात्र लागू हुनेछ ।

त्यस्तै एक लिटरसम्म मदिरा, सात किलोग्रामसम्मका खाद्य परिकार, बच्चा राख्ने पेराम्बुलेटर तथा ट्राइसाइकल र पेसागत प्रयोजनका सामग्रीमा समेत छुटको व्यवस्था गरिएको छ । विदेशमा रहेका नेपालीले आफ्ना आफन्तलाई ५ सय अमेरिकी डलरसम्म मूल्यका सामान पठाएमा लाग्ने महसुल तिरेर जाँचपास गर्न सकिनेछ । तर सामानको मूल्य कम देखाएर पठाएको प्रमाणित भएमा जफत, जरिबाना तथा थप महसुल असुल गरिनेछ ।

नयाँ व्यवस्थाअनुसार २ सय खिल्लीसम्म चुरोट वा ५० खिल्लीसम्म सिगार पनि प्रचलित कानुनबमोजिम महसुल तिरेर ल्याउन सकिनेछ । भारतीय सेना वा प्रहरीबाट निवृत्तिभरण पाउने गरी अवकाश प्राप्त व्यक्तिले आवश्यक कागजात पेस गरे ५० हजार रुपैयाँसम्मका निजी प्रयोगका सामानमा पूर्ण छुट पाउनेछन् ।

विदेशमा बसोबासका क्रममा मृत्यु भएका नेपाली नागरिकका निजी प्रयोगका पुराना सामान स्वदेश ल्याउँदा पनि भन्सार महसुल नलाग्ने व्यवस्था गरिएको छ। यद्यपि सवारीसाधन, हातहतियार तथा खरखजाना भने छुटको दायरामा पर्ने छैनन् ।

विदेश जाने नेपाली यात्रुका लागि पनि ५० हजार रुपैयाँसम्म मूल्यका सौगातका सामानमा महसुल नलाग्ने व्यवस्था यथावत राखिएको छ। आवश्यक कागजात र खरिदको बिजक पेस गरे थप सामानसमेत लैजान सकिनेछ ।

विदेशी हवाई यात्रुले नेपाल आउँदा वा जाँदा व्यक्तिगत प्रयोगका विभिन्न सामग्रीमा छुट पाउने व्यवस्था कायम गरिएको छ । उनीहरूले एक थान ल्यापटप वा ट्याबलेट, क्यामरा, भिडियो क्यामरा, मोबाइल फोन, घडी, साइकल, पोर्टेबल म्युजिक सिस्टम तथा तोकिएको परिमाणसम्मका सुनचाँदीका गहना ल्याउन सक्नेछन्। यस वर्षको व्यवस्थामा पावर बैंकलाई पनि छुट प्राप्त वस्तुको सूचीमा समावेश गरिएको छ ।

विदेशी यात्रुले एक लिटरसम्म मदिरा वा १२ क्यान बियर, २ सय खिल्लीसम्म चुरोट, १० हजार रुपैयाँसम्मका औषधि, ५ हजार रुपैयाँसम्मका खाद्य सामग्री तथा २ हजार रुपैयाँसम्मका फलफूल ल्याउन पाउनेछन् ।

त्यस्तै विदेशी नागरिकले नेपालबाट खरिद गरेका सामान विदेशी मुद्रा सटहीको प्रमाणका आधारमा लैजान सक्नेछन् । साथै थप ५ लाख रुपैयाँसम्म मूल्यका वस्तु पनि साथमा लैजान सक्ने व्यवस्था गरिएको छ। नेपाली बजारबाट खरिद गरेको आधिकारिक बिजक पेस गरे उक्त सीमा लागू नहुने अर्थ मन्त्रालयले जनाएको छ ।

सरकारले हवाई वा स्थलमार्गबाट नेपाल प्रवेश गर्ने यात्रुलाई ५ हजार अमेरिकी डलर बराबरसम्मको विदेशी मुद्रा वा धारक विनिमय अधिकारपत्र साथमा ल्याउन अनुमति दिएको छ। सोभन्दा बढी रकम ल्याउनुपर्ने अवस्थामा भन्सार बिन्दुमा घोषणा गर्नुपर्ने व्यवस्था गरिएको छ ।

प्रकाशित मिति : २० जेष्ठ २०८३, बुधबार  १० : १४ बजे