२९ असार २०८३, सोमबार | Tue Jul 14 2026

सञ्चारगृहअगाडि शंकास्पद पार्किङ, पत्रकार महासंघ र राजनीतिक दलहरूको आपत्ति



काठमाडौं । काठमाडौंका तीन प्रमुख सञ्चारगृहका कार्यालयअगाडि सोमबार बिहान शंकास्पद रूपमा सवारीसाधन पार्किङ गरिएपछि पत्रकार महासंघ, राजनीतिक दल तथा सञ्चार क्षेत्रले घटनाप्रति गम्भीर आपत्ति जनाएका छन्। घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउन उनीहरूले सरकारसँग माग गरेका छन्।

अनलाइनखबर, कान्तिपुर पब्लिकेशन्स् र हिमालय टेलिभिजनका कार्यालयको प्रवेशद्वारमै गाडी पार्किङ गरिएकाले कर्मचारी तथा पत्रकारहरूको आवतजावत प्रभावित भएको थियो। बिहानैदेखि गेट अगाडि पार्किङ गरिएका ती सवारी हटाउन प्रहरी र ट्राफिक प्रहरीलाई जानकारी गराइए पनि केही घण्टापछि मात्र क्रेनको सहायताले हटाइएको थियो।

प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ। काठमाडौं जिल्ला प्रहरी परिसरका प्रवक्ताले गाडी हटाइसकेपछि कसले र किन यस्तो पार्किङ गरेको हो भन्ने विषयमा अनुसन्धान अघि बढाइएको बताएका छन्। यद्यपि घटनाको उद्देश्यबारे आधिकारिक निष्कर्ष सार्वजनिक गरिएको छैन।

यस घटनासँगै काठमाडौंका अन्य केही स्थानमा पनि शंकास्पद रूपमा सवारी पार्किङ गरिएको विवरण सार्वजनिक भएका छन्। यसले योजनाबद्ध गतिविधिको आशंका उब्जाएको भन्दै विभिन्न पक्षले गम्भीर अनुसन्धानको माग गरेका छन्।

नेपाल पत्रकार महासंघले घटनालाई सञ्चार स्वतन्त्रतामाथिको चुनौतीका रूपमा व्याख्या गर्दै तत्काल छानबिन र सञ्चारगृहको सुरक्षा सुनिश्चित गर्न सरकारसँग माग गरेको छ। महासंघले जारी गरेको विज्ञप्तिमा पत्रकारको निर्भीक रूपमा काम गर्ने वातावरणमा अवरोध सिर्जना गर्ने कुनै पनि गतिविधि स्वीकार्य नहुने उल्लेख गरिएको छ।

महासंघका पदाधिकारीहरूले घटनास्थलको निरीक्षणपछि सञ्चारमाध्यमको कार्यालयको प्रवेशद्वारमै सवारी पार्किङ गरी पत्रकारलाई मनोवैज्ञानिक दबाब सिर्जना गर्ने प्रयास भएको भन्दै त्यसको निष्पक्ष अनुसन्धान आवश्यक रहेको बताएका छन्।

यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पनि घटनाको भर्त्सना गर्दै सञ्चारगृहलाई त्रसित बनाउने उद्देश्यका गतिविधि लोकतान्त्रिक मूल्य–मान्यताविपरीत भएको जनाएको छ। पार्टीका महामन्त्री विपिनकुमार आचार्यद्वारा जारी विज्ञप्तिमा स्वतन्त्र र भयरहित पत्रकारिता लोकतन्त्रको आधार भएको उल्लेख गर्दै घटनामा संलग्न जोसुकै भए पनि तत्काल पहिचान गरी कानुनबमोजिम कारबाही गर्न सरकार, गृह मन्त्रालय तथा सम्बन्धित सुरक्षा निकायको ध्यानाकर्षण गराइएको छ।

रास्वपाले सम्पूर्ण सञ्चारमाध्यमको भौतिक तथा मनोवैज्ञानिक सुरक्षा सुनिश्चित गर्न र यस्ता घटनाको तत्काल, निष्पक्ष तथा तथ्यपरक छानबिन गर्न पनि आग्रह गरेको छ।

घटनाबारे विभिन्न अड्कलबाजी भइरहेका भए पनि यसको वास्तविक कारण र जिम्मेवार पक्षबारे प्रहरीले औपचारिक निष्कर्ष सार्वजनिक गरिसकेको छैन। अनुसन्धानको नतिजापछि मात्र घटनाको उद्देश्य स्पष्ट हुने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : २९ असार २०८३, सोमबार  १० : १० बजे