२९ असार २०८३, सोमबार | Tue Jul 14 2026

अमेरिकाबाट नेपाली निष्कासित हुने क्रम जारी, जुनमा ९ जना फिर्ता



अमेरिकाबाट नेपालीहरु निष्कासित क्रम जारी रहेको छ । यद्यपी फिर्ता हुने नेपाली नागरिकको संख्या भने क्रमश घट्दै गएको छ । सन् २०२६ को सुरुदेखि नै निरन्तर घट्दै गएको हो ।

अमेरिकी गृह सुरक्षा विभाग (यूएस डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी) को तथ्यांकअनुसार जनवरीदेखि जुनसम्म छ महिनामा ३४३ जना नेपालीलाई अमेरिकाबाट निष्कासित गरिएको छ ।

जनवरीमा १०१, फेब्रुअरीमा १३०, मार्चमा ४३, अप्रिलमा ४५, मेमा १५ र जुनमा ९ जना नेपाली निष्कासित भएका छन् । यसले पछिल्ला महिनाहरूमा निष्कासनको संख्या उल्लेखनीय रूपमा घट्दै गएको देखाएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दोस्रो कार्यकाल सुरु गरेपछि गैरकानुनी रूपमा बसोबास गर्ने आप्रवासीमाथि कडाइ गर्ने नीति लागू गरेका थिए । त्यसयता ‘डंकी रुट’ हुँदै अमेरिका पुगेका, कागजातविहीन तथा विभिन्न कारणले गैरकानुनी रूपमा बसोबास गरिरहेका नेपालीहरू पनि निष्कासनको प्रक्रियामा परेका थिए ।

यूएस डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीका अनुसार पछिल्ला महिनामा नेपाली नागरिकको निष्कासन दर घट्दो क्रममा रहेको छ । सन् २०२५ मा अमेरिकी अध्यागमन तथा भन्सार प्रवर्तन निकाय (आइस) ले १ हजार ३६५ जना नेपालीलाई निष्कासनको सूचीमा राखेको थियो। तीमध्ये ४८४ जना नेपालीलाई निष्कासन गरिएको तथ्यांकले देखाएको छ ।

ट्रम्पको दोस्रो कार्यकालअघि सन् २०१९ देखि २०२४ सम्मको छ वर्षमा भने कुल ३८९ जना नेपालीलाई अमेरिकाबाट निष्कासन गरिएको थियो। तीमध्ये सन् २०१९ मा १६२, २०२० मा ९७, २०२१ मा २३, २०२२ मा २८, २०२३ मा २२ र २०२४ मा ५७ जना रहेका छन्।

होमल्याण्ड सेक्युरिटीको प्रतिवेदनअनुसार ११ राष्ट्रका २० लाखभन्दा बढी आप्रवासीले स्वेच्छाले अमेरिका छाडेका छन्। साथै विभिन्न आपराधिक गतिविधिमा संलग्न रहेको आधारमा ‘खराबमध्येका अति खराब’ श्रेणीमा राखिएका करिब ६ लाख २२ हजार गैरकानुनी आप्रवासीलाई नियन्त्रणमा लिएर निष्कासन गरिएको पनि प्रतिवेदनमा उल्लेख गरिएको छ।

अमेरिकी प्रशासनले गैरकानुनी आप्रवासन नियन्त्रणलाई प्राथमिकतामा राख्दै कडा अध्यागमन नीति लागू गरिरहे पनि पछिल्ला महिनामा नेपाली नागरिकको निष्कासन दर भने क्रमशः घट्दै गएको तथ्यांकले देखाएको छ।

प्रकाशित मिति : २९ असार २०८३, सोमबार  १० : २८ बजे