काठमाडौं । बाफल स्थित हार्टल्यान्ड एकेडेमीका विद्यार्थीहरुले बाढी पीडितहरुको सहयोगका लागि संकलन गरेको रकम विहीबार हेल्प नेपाल नेटवर्कलाई हस्तान्तरण गरेका छन् । सामाजिक उत्तरदायित्व बहन गर्ने सोचका साथ सक्रिय रहेका उक्त एकेडेमीका विद्यार्थीले ८२ हजार रुपैया संकलन गरेका थिए । उक्त रकमको चेक हार्टल्यान्ड एकेडेमीका प्राचार्य करणसिंह गोयलाले हेल्प नेपाल नेटवर्कका सल्लाहकार विजय राजभण्डारीलाई हस्तान्तरण गरे ।
रकम हस्तान्तरण गर्दै हार्टल्याण्डका प्राचार्य गोयलाले स्कुलमा स्थापित विद्यार्थी प्रतिनिधि परिषद (एसआरसी)को सक्रियतामा यो सहयोग रकम उठेको बताए । उनले विद्यार्थीले जम्मा गरेका जिन्सी सामानहरु भने तराई मधेश क्षेत्रका अभिभावकहरुको सहयोगमा बाढी पीडितहरुलाई वितरण गरिएको जनाए ।
एकेडेमीका विद्यार्थीसमेतको उपस्थितिमा सम्पन्न सहयोग हस्तान्तरण कार्यक्रममा हेल्प नेपालका सल्लाहकार राजभण्डारीले विद्यार्थीहरुको समाजसेवा प्रति सक्रिय रहने सोचको सराहना गर्दै उपलब्ध रकम बाढी पीडितहरुको सहयोगका लागि स्थापित बास्केट फण्डमा जम्मा गरिने बताए ।
हेल्प नेपालका विपद् व्यवस्थापन संयोजक रवि मानन्धरले समाजसेवी विद्यार्थीहरुको प्रशंसा गर्दै सहयोगका लागि धन्यवाद दिए ।