ताप्लेजुङ । प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले वाम गठबन्धन लोकतन्त्र विरोधी शक्तिको रुपमा खडा भएको आरोप लगाएका छन् ।
शनिबार ताप्लेजुङबाट काँग्रेसको चुनावी अभियान शुरु गरेका देउवाले सदरमुकाम फुङलिङमा काँग्रेस ताप्लेजुङद्वारा आयोजित आमसभालाई सम्बोधन गर्दै वाम गठबन्धन लोकतन्त्र, जनता र संघीयता विरोधी रहेको बताए । उनले कम्युनिष्ट शासन स्थापना भए जनताको दैनिकी डर–त्रासपूर्ण हुने ठोकुवा गरे ।
प्रधानमन्त्री देउवाले काँग्रेसबाहेक कुनै शक्ति प्रजातान्त्रिक पक्षधर नभएको भन्दै आगामी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा लोकतन्त्रको रक्षार्थ पनि कम्युनिष्टलाई पराजित गर्नुपर्ने विचार व्यक्त गरेका थिए ।
निर्वाचन लोकतन्त्र र साम्यवाद रोज्ने बीचको प्रतिस्पर्धा हो भन्दै प्रधानमन्त्री देउवाले भने, “जनता लोकतन्त्र विरोधी छैनन् त्यही भएर साम्यवाद उनीहरूको रोजाइमा पर्दैन, यसैले पनि काँग्रेसको जित सुनिश्चित छ ।”
कार्यक्रममा काँग्रेस केन्द्रीय सदस्य एवं प्रचार विभाग प्रमुख बालकृष्ण खाँणले यस पटक काँग्रेस एकताबद्ध भएर चुनावमा होमिएकाले पनि आफ्नो पार्टीको जितलाई कसैले रोक्न नसक्ने दाबी गरे ।