८ भाद्र २०८३, सोमबार | Tue Aug 25 2026

कांग्रेसको महाधिवेशन रोक्न देउवा र खड्काको छुट्टाछुट्टै निवेदन मंगलबार दर्ता हुने



काठमाडौं । नेपाली कांग्रेसको आधिकारिकता विवादमा पूर्वसभापति शेरबहादुर देउवा र पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले सर्वोच्च अदालतमा पेश गरेका छुट्टाछुट्टै पूरक निवेदन मंगलबार दर्ता हुने भएको छ ।

देउवा र खड्काको तर्फबाट सोमबार सर्वोच्च अदालतमा छुट्टाछुट्टै पूरक निवेदन पेश गरिएको थियो। कांग्रेसले घोषणा गरेको १५औँ महाधिवेशन रोक्न माग गर्दै पेश गरिएका निवेदन सोमबार दर्ता नभएको र मंगलबार दर्ता हुने सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाले जानकारी दिए।

यसअघि शुक्रबार पनि देउवाका वारेस सर्वोच्च अदालत पुगेका थिए। तर वारेससम्बन्धी प्रक्रिया नमिलेपछि निवेदन फिर्ता लिएर उनीहरू फर्किएका थिए।

विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको कार्यसमितिले १५औँ महाधिवेशनको कार्यतालिका सार्वजनिक गरिसकेको छ। देउवा र खड्काले भने पार्टीको आधिकारिकताको विवाद सर्वोच्च अदालतमा विचाराधीन रहेकाले त्यसको टुंगो नलागेसम्म महाधिवेशनका सम्पूर्ण प्रक्रिया रोक्न माग गरेका छन्।

उनीहरूले यसअघि सर्वोच्च अदालतले गरेको फैसला पुनरावलोकन गर्न माग गर्नुका साथै सोमबार पेश गरिएको पूरक निवेदनसमेत सँगै हेर्न आग्रह गरेका छन्।

निर्वाचन आयोगले विशेष महाधिवेशनबाट निर्वाचित थापा नेतृत्वको कार्यसमितिलाई वैधानिकता दिएपछि देउवा र खड्का सर्वोच्च अदालत पुगेका थिए। सर्वोच्चले पनि निर्वाचन आयोगको निर्णय सदर गरेको थियो।

त्यसपछि उक्त आदेश पुनरावलोकन गर्न देउवा र खड्काले छुट्टाछुट्टै निवेदन दिएका थिए। प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मासहितको पूर्ण इजलासले पुनरावलोकन निवेदनमा निस्सा दिएपछि कांग्रेसको आधिकारिकता विवाद फेरि बल्झिएको हो।

अब सर्वोच्चमा दर्ता हुने दुवै पूरक निवेदनमा कांग्रेसको १५औँ महाधिवेशनको प्रक्रिया रोक्न गरिएको माग, यसअघिको आदेश पुनरावलोकनको विषय तथा पार्टीको आधिकारिकतासम्बन्धी विवाद मुख्य मुद्दा बन्ने देखिएको छ।

प्रकाशित मिति : ८ भाद्र २०८३, सोमबार  ९ : ५१ बजे