डडेल्धुरा । प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले गृहजिल्ला डडेल्धुरामा आज आयोजित चुनावी सभालाई सम्बोधन गर्दै आफू र पार्टीका प्रदेशसभा उम्मेदवारहरुलाई बहुमतका साथ विजयी गराउन आग्रह गरेका छन् ।
प्रधानमन्त्री देउवाले भने, “मसित त तपार्इंहरु झगडा गर्नेदेखि आफ्नो हकअधिकारका लागि बोल्न सक्नुहुन्छ ।” डडेल्धुरावासीले दिएको मायाले आफू देशकै नेतृत्वमा पुगेको बताउँदै उहाँले जनताले दिएको मायाको दुरुपयोग हुन नदिने धारणा राखे ।
“मैले डडेल्धुराको नाम विश्वमै चिनाएको छु” देउवाले भने, “डडेल्धुरामा जन्मिएकामा गर्व लाग्छ । यहाँहरुकै सद्भाव र मायाले पटक–पटक यो देशको प्रधानमन्त्री भएको छु ।,
डडेल्धुराका विकास निर्माणका विषयमा बोल्दै देउवाले अधुरा सडक सञ्जाल, खानेपानी, विद्युत् विस्तारमा पहल गर्ने बताए । “सडक सञ्जाल विस्तार भए पनि कच्ची भएकाले धुलोधुवाँ धेरै भयो,” उनले भने– “अब सबै सडकहरु कालोपत्र गर्छु ।”