काठमाडौं । सर्वोच्च अदालतले आफ्नो अवहेलना मुद्दामा वरिष्ठ चिकित्सक प्रा डा गोविन्द केसीसँग आज बयान लिएको छ ।
अवहेलना मुद्दामा पक्राउ गरी आज बिहान अदालतमा उपस्थित गराउन गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयलाई सोमबार आदेश दिइएपछि उहाँलाई उपस्थित गराइएको हो ।
बयानका क्रममा प्रा डा केसीले अदालतमा सञ्चारमाध्यममा आफूले दिएका अभिव्यक्तिका आधारमा अदालतको अवहेलना भन्न नमिल्ने जिकिर गरे । केसीले प्रधानन्यायाधी गोपाल पराजुलीले चाहि अदालतको अवहेलना गरेको आरोप लगाउँदै उनलाई कारबाही हुनुपर्ने दाबी गरे ।
प्रा डा केसीले त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थानका डीनमा प्रा डा शशि शर्मालाई पुनःबहाली गराउने अदालतको आइतबारको फैसलाको विरोधमा प्रधानन्यायाधीश गोपाल पराजुलीको राजीनामा माग गरी अनशन शुरु गरेका थिए । उनलाई सोमबार साँझ अनशनस्थल त्रिवि शिक्षण अस्पतालबाट प्रहरीले पक्राउ गरी हिरासतमा राखेको थियो ।