काठमाडौँ । साविक विजेता लुम्बिनी लायन्सलाई १० विकेटले पराजित गर्दै सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि उचालेको छ । शनिबार भएको फाइनलमा सानदार जित हात पार्दै सुदूरपश्चिमले पहिलो पटक एनपीएलको ट्रफी चुमेको हो ।
लगातार तेस्रो सिजन फाइनल खेलेको सुदूरपश्चिम च्याम्पियन बनेसँगै एनपीएलका सुरुवाती तीन संस्करणमा तीन फरक टोली विजेता बनेका छन् । यसअघि पहिलो सिजनको फाइनलमा सुदूरपश्चिम जनकपुर बोल्ट्ससँग ५ विकेटले र दोस्रो सिजनमा लुम्बिनी लायन्ससँगै ६ विकेटले पराजित भएको थियो। तेस्रो सिजनको उद्घाटन खेल र लिग चरणमा लुम्बिनीसँग व्यहोरेको हारको बदला सुदूरपश्चिमले फाइनलमा उपाधि जित्दै लिएको छ। उता, हारसँगै लुम्बिनीले लगातार दोस्रो पटक उपाधि जितेर इतिहास रच्ने अवसर गुमायो।
जर्ज मुन्सेको कीर्तिमानी शतक, सुदूरपश्चिमलाई सहज जित
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा लुम्बिनीले दिएको १ सय ५६ रनको लक्ष्य सुदूरपश्चिमले बिना विकेटको क्षतिमा १५.३ ओभरमै पूरा गर्यो।
पहिलो विकेटका लागि ओपनर जर्ज मुन्से र विनोद भण्डारीले १ सय ५८ रनको अविजित साझेदारी गर्दै टोलीलाई सहज जित दिलाए। आक्रामक ब्याटिङ गरेका मुन्सेले ५४ बलमा ८ चौका र १२ छक्का प्रहार गर्दै अविजित १ सय २५ रन बनाए। जारी एनपीएलमा बनेको यो सर्वाधिक व्यक्तिगत स्कोर हो। उनले ४९ बलमा ८ चौका र ८ छक्काको मद्दतले शतक पूरा गरेका थिए। जारी सिजनमा शतक प्रहार गर्ने मुन्से तेस्रो खेलाडी हुन्। यसअघि चितवनका कमिल मिसाराले काठमाडौँ गोर्खाजविरुद्ध र पोखरा एभेन्जर्सका युवराज साम्राले कर्णालीविरुद्ध शतक बनाएका थिए। समग्रमा एनपीएलमा यो छैटौँ शतक हो।
अर्को छेउबाट सम्हालिएर खेलेका विनोद भण्डारीले २७ बलमा ३ चौकासहित अविजित ३० रन जोडे।
लुम्बिनीको मध्यम योगफल
त्यसअघि टस जितेर सुदूरपश्चिमले बलिङ रोजेपछि पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ५५ रन बनायो।
कप्तान रोहित पौडेलले ३० रनमाथिका तीन साझेदारी गर्दै टोलीलाई प्रतिस्पर्धात्मक योगफलतर्फ डोर्याए। उनले दोस्रो विकेटका लागि डार्सी सर्टसँग ३० रन, तेस्रो विकेटका लागि निरोशन डिकवेल्लासँग ३९ रन र चौथो विकेटका लागि दिलिप नाथसँग ३४ रनको साझेदारी गरे।
कप्तान रोहित ३१ बलमा २ चौकासहित ३० रन बनाउँदा रनआउट भए। ओपनर डार्सी सर्ट १८ बलमा ४ चौकाको मद्दतले २१ रन बनाउँदा दीपेन्द्रसिंह ऐरीको बलमा बोल्ड आउट भए। निरोशन डिकवेल्लाले २८ रन जोड्दा थरिन्दु रत्नायकेको बलमा बोल्ड भए। सन्दीप जोरा ४ र आशिफ शेख १ रनमा आउट भए।
अन्तिमतिर दिलिप नाथ र अली शेखले छैटौँ विकेटका लागि ३३ रनको साझेदारी गरे। १२ बलमा २ चौका र २ छक्का प्रहार गरेका अली शेख २४ रन बनाउँदा हेमन्त धामीको बलमा क्याच आउट भए। ३१ बलमा ३ छक्का प्रहार गरेका दिलिप नाथ ३९ रन र रुवेन ट्रम्पलमेन ४ रनमा अविजित रहे।
बलिङतर्फ सुदूरपश्चिमका स्कट कुल्गेजिनले २ विकेट लिए भने हेमन्त धामी, थरिन्दु रत्नायके र दीपेन्द्रसिंह ऐरीले समान १-१ विकेट हात पारे।









