सोलुखुम्बुको सदरमुकाम सल्लेरीमा रहेको सोलुखुम्बु बहुमुखी क्याम्पसले ‘मेची–काली विश्व अभियान’ शुरु गरेको छ । स्थापनाको २५ औं वर्ष पुरा गरेको उपलक्ष्यमा फागुन ४ गते राष्ट्रपति विद्यादेवी भण्डारीले क्याम्पस प्रंगाणमा पुगेर उक्त अभियानको आरम्भ गरेकी हुन् ।
नेपाललाई विश्वमा चिनाउने र गरीब तथा जेहेन्दार विद्यार्थीलाई निःशुल्क प्राविधिक तथा व्यवसायिक शिक्षा पढाउने उद्देश्यका साथ अभियान शुरु गरिएको बताइएको छ । अभियानको पहिलो उद्देश्य सबैभन्दा बढी जनसहभागितामा सञ्चालित पब्लिक क्याम्पसको हैसियतमा गिनिज वर्ल्ड रेकर्ड कायम गराउने रहेका छ । त्यसैगरी क्याम्पसलाई अत्याधुनिक र सुविधासम्पन्न बनाउने योजना पनि यस अभियानको रहेको छ ।
विभिन्न २२ उद्देश्यसहित शुरु गरिएको यस अभियान ५ वर्षमा पुरा गर्ने लक्ष्यका साथ अभियान मुल समिति लागेको छ ।
यही उद्देश्य पुरा गर्न एक अर्ब रुपैयाँ संकलन गर्ने लक्ष्यका साथ अभियान अघि बढिसकेको अभियान मुल समितिका सदस्य सचिव एवं क्याम्पस प्रमुख उद्वव शर्माले बताए । प्रस्तुत छ, उनै शर्मासँग यस अभियानबारे एभरेस्ट टाइम्सका लागि नेत्र तामाङले गरेको कुराकानीः
यस्तो ‘ड्रिम प्रोजेक्ट’ बनाउनु भएको रहेछ, कसरी तयार भयो ?
पहिलो कुरा त यो ड्रिम प्रोजेक्ट होइन । यो दिउँसै देखिएको र सम्भव सपना हो । एक करोड नेपालीमात्र भाग लिएमा यो योजना चाँडै पुरा हुनेछ । हामीले पाँच वर्षको लक्ष्य राखेका छौं । तर, यो चाँडै पनि पुरा हुन सक्छ ।
आफ्नै जिल्लाको क्याम्पस भएकोले पनि मलाई विशेष माया छ । यहाँ मैले अध्ययपनमै २५ वर्ष बिताएँ । यही क्रममा यहाँ सुविधासम्पन्न क्याम्पसको खाँचो देखें । जनशक्ति, कक्षाकोठाजस्तो सुविधा सम्पन्न क्याम्पस अभावमा कैयौं जेहेन्दारहरुले पढाई छाड्नु परेको देखें । यहीबाट यो अवधारणा तयार भयो । यस्तो गर्नुपर्छ भनेर क्याम्पस सञ्चालक समिति, स्थानीयले पनि साथ दिनुभयो । यसपछि यो योजना तयार भयो ।
विभिन्न ठाउँमा अत्याधुनिक क्याम्पसहरु बनिरहेका छन्, यहाँ विद्यार्थी आकर्षण गर्ने योजना के छ ?
हाम्रो पहिलो योजना भनेको पाँच सय जना गरीब तथा जेहेन्दार विद्यार्थीलाई निशुल्क पढाउने हो । त्यसपछि २५ जना विदेशीलाई पनि छात्रवृत्तिमा पढाउने । योसँगै वर्षमा पाँच हजार विद्यार्थी भर्ना हुनेछन् ।
यसमा एक त सगरमाथा भएकै जिल्ला भएकोले विद्यार्थी आकार्षित हुन सक्छन् । तर हामी स्तरीय शिक्षामा जोड दिन्छौ । हामी आकर्षक कोर्सहरु राख्दैछौ । ट्राभल, टुरिजम र माउन्टेनियरिङमा रियल फिल्डमै गएर अभ्यास दिई शिक्षा दिनेछौ । यसैले पनि अरु क्याम्पसहरुभन्दा हामी पृथक देखिने पक्का छ ।
सबैभन्दा ठुलो विषय भनेको एक अर्ब उठाउनु पर्ने देखियो, यसलाई कसरी सम्भव देख्नुभयो ?
यसका लागि हामीले ५०१ सदस्यीय मुल समिति बनाएका छौं । सबैजना ७७ जिल्लामा भोलिन्टियरको रुपमा खट्नेछन् । उद्घाटनमै डेढ करोड प्रतिबद्धता आइसकेको छ । विभिन्न देशमा रहेका नेपालीहरुको सहयोग पाइनेमा हामी विश्वस्त छौ । विद्यालयका पूर्व विद्यार्थीहरु उत्तिकै इन्ट्रेस्टेड हुनुहुन्छ । प्रदेश सरकारको साथ रहनेछ । स्थानीय सरकारको पनि प्रतिबद्धता आइसकेको छ । साथमा सम्पूर्ण नेपाली जनताले साथ दिने आशा त छँदै छ । यसैले पनि यो सम्भव छ ।
योजना मुताबिक जेहेन्दार विद्यार्थी कसरी छनोट गर्नुहुन्छ ?
यसमा पारदर्शी मापदण्ड हुनेछ । विद्यार्थी र उसले छनोट गरेको विषयमा आधारित रहेर छनोट समिति पनि हुनेछ ।
तपाई आफै चाहि कतिको सम्भव देख्नुहुन्छ यो योजना पुरा हुनेमा ?
हामी मौरीले मह जम्मा गर्ने नीतिमा छौ । साना मौरीले हामीले खाइनसक्ने मह जम्मा गर्छन् । त्यसैगरी हामी यो काम गर्छौ । यो मेरोमात्र हैन पुरै नेपालीको योजना हो, त्यसैले पुरा हुनेमा ढुक्क छु ।