४ माघ २०८१, शुक्रबार | Fri Jan 17 2025

भक्तपुर १ को प्रदेशसभामा कांग्रेस विजयी



भक्तपुर– भक्तपुर–१ (क) को प्रदेशसभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । कांग्रेसका उम्मेदवार कृष्णलाल भँडेल १३ हजार ४४९ मत ल्याएर विजयी भएका हुन ।

निकटतम प्रतिद्वन्द्वी नेकपाका डिपी ढकालले ११ हजार २०६ मत पाएका छन् । नेमकिपाका उम्मेदवार निरज लवजूले ५ हजार ८२९ मत पाए ।

राप्रपाका श्यामप्रसाद नेपालले ५७४ र साझा पार्टीका सुरज प्रधानले ३८५ मत प्राप्त गरेका छन् ।

२०७४ सालमा भएको निर्वाचनमा तत्कालीन एमालेबाट हरिशरण लामिछानले १२ हजार ७८९ मत ल्याएर विजयी भएका थिए भने कांग्रेसका जीवन खत्रीले ९ हजार ९७७ मत र नेमकिपाका लवजुले ७ हजार १९ मत ल्याएका थिए ।

लामिछानेको मष्तिस्कघातबाट निधन भएपछि रिक्त यो स्थानमा उपनिर्वाचन भएको हो । चाँगुनारायण नगरपालिकाका नौ वटै वडा र भक्तपुर नगरपालिकाका–१० गरी कूल १० वटा वडामा भएको उपनिर्वाचनमा कूल ७१.१७ प्रतिशत मत खसेको थियो ।

एक्काइस हजार ९३५ पुरुष र २३ हजार ८० महिला गरी कूल ४५ हजार १५ मतदाता रहेको यो क्षेत्रमा १५ हजार ६६५ पुरुष र १६ हजार ३७२ महिला गरी कूल ३२ हजार ३७ मतदाताले मतदान गरेका थिए ।

प्रकाशित मिति : १५ मंसिर २०७६, आइतबार  १२ : ३० बजे