११ श्रावण २०८३, सोमबार | Mon Jul 27 2026

नेपालमा नयाँ युगको सुरुआत, नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग सुरु



नेपालको पहिलो तथा सबैभन्दा लामो सडक सुरुङमार्ग नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग सोमबारदेखि औपचारिक रूपमा सञ्चालनमा आएको छ। पहिलो चरणमा अत्यावश्यक सेवाका सवारीसाधनलाई मात्र सञ्चालन अनुमति दिइएको छ भने परीक्षण अवधि पूरा भएपछि सबै प्रकारका सवारीसाधनका लागि खुला गरिने पूर्वाधार विकास मन्त्रालयले जनाएको छ।

संघीय राजधानी काठमाडौंलाई देशका विभिन्न जिल्लासँग जोड्ने त्रिभुवन राजपथमा निर्माण गरिएको २ हजार ६ सय ८८ मिटर लामो सुरुङमार्गको उद्घाटन पूर्वाधार विकासमन्त्री सुनिल लम्साल, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) का अध्यक्ष डा. तानाका अकिहिको तथा सुरुङ निर्माणमा संलग्न वरिष्ठ प्राविधिक पूर्ण जोशीले संयुक्त रूपमा गरेका हुन्।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २२ अक्टोबर २०१९ मा शिलान्यास गरेको यस आयोजनाको निर्माण कार्य १४ नोभेम्बर २०१९ देखि सुरु भएको थियो। मुख्य सुरुङको ‘ब्रेक थ्रु’ भने ३ वैशाख २०८१ मा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले गरेका थिए।

उद्घाटन समारोहमा पूर्वाधारमन्त्री लम्सालले सुरुङमार्ग सञ्चालनसँगै नेपाल पूर्वाधार विकासको नयाँ चरणमा प्रवेश गरेको बताए। उनले यो आयोजना मुलुकको प्राविधिक क्षमता र राजनीतिक प्रतिबद्धताको उदाहरण भएको उल्लेख गर्दै आगामी दिनमा थप सुरुङमार्ग निर्माणले गति लिने विश्वास व्यक्त गरे। मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलले कठिन भौगोलिक अवस्थाबीच आधुनिक पूर्वाधार निर्माण सम्भव भएको भन्दै यसले नेपालको विकास यात्रामा नयाँ अध्याय सुरु गरेको बताए।

जाइकाका अध्यक्ष डा. तानाका अकिहिकोले नागढुङ्गा सुरुङ नेपाल–जापान सहकार्यको ऐतिहासिक उपलब्धि भएको उल्लेख गर्दै हिमाली भूगोलका चुनौतीबीच आयोजना सफलतापूर्वक सम्पन्न हुनु दुवै देशबीचको विश्वासको प्रतीक भएको बताए। नेपालका लागि जापानी राजदूत माएदा तोरुले पनि यसलाई दुई देशबीचको मैत्री सम्बन्धको महत्वपूर्ण उपलब्धिका रूपमा व्याख्या गरे।

४–५ मिनेटमै काठमाडौं प्रवेश

सुरुङ सञ्चालनमा आएपछि धादिङको सिस्नेखोलादेखि काठमाडौं प्रवेश गर्न लाग्ने समय उल्लेखनीय रूपमा घट्ने अपेक्षा गरिएको छ। अहिले सामान्य अवरोध हुँदा नौबिसे–काठमाडौं सडकखण्डमा घण्टौँसम्म जाम हुने अवस्था रहने गरे पनि सुरुङमार्ग प्रयोग गर्दा यो दूरी करिब ४ देखि ५ मिनेटमै पार गर्न सकिने मन्त्रालयको दाबी छ।

सुरुङमार्गमा मोटरसाइकल तथा अत्यधिक ज्वलनशील पदार्थ बोकेका सवारीसाधनलाई प्रवेश अनुमति दिइने छैन। अन्य सवारीसाधन भने सिस्नेखोलाबाट सुरुङ हुँदै काठमाडौं आउजाउ गर्न सक्नेछन्।

अत्याधुनिक सुरक्षा प्रणाली

सुरुङमार्गमा २ हजार ५ सय ५७ मिटर लामो उद्धार (रेस्क्यु) सुरुङ निर्माण गरिएको छ। यसबाहेक फ्लाइओभर, पुल, बक्स कल्भर्ट, अन्डरपास र ओभरपाससहित एक दर्जनभन्दा बढी सहायक संरचना निर्माण भएका छन्। बलम्बु क्षेत्रमा ६ सय १० मिटर लामो फ्लाइओभरसमेत निर्माण गरिएको छ।

सुरुङभित्र चौबिसै घण्टा सीसीटीभी निगरानी, अत्याधुनिक अग्नि सुरक्षा प्रणाली, आकस्मिक उद्धार उपकरण तथा दमकलको व्यवस्था गरिएको छ। दुर्घटना वा आपतकालीन अवस्थाको तत्काल व्यवस्थापन गर्न विशेष नियन्त्रण प्रणाली जडान गरिएको मन्त्रालयले जनाएको छ।

जापानी सहुलियत ऋणमा निर्माण

नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग जापान सरकारको सहुलियतपूर्ण ऋण सहयोगमा निर्माण भएको हो। सन् २०१६ मा नेपाल र जापानबीच ऋण सम्झौता भएपछि आयोजना कार्यान्वयनमा गएको थियो। जापानी निर्माण कम्पनी हाजमा–आन्दो जेभी ले सुरुङ निर्माण सम्पन्न गरेको हो। सुरुवाती लागत करिब २२ अर्ब रुपैयाँ अनुमान गरिए पनि जग्गा अधिग्रहण, कोभिड–१९ महामारी, स्थानीय अवरोध तथा निर्माण अवधि लम्बिँदा लागत वृद्धि भएको छ।

आयोजनाको सञ्चालन तथा व्यवस्थापन पाँच वर्षका लागि युसिन एआरटी जेभीलाई दिइएको छ भने सुरुङको डिजाइन आयु ३० वर्ष रहेको छ।

कति लाग्छ टोल शुल्क ?

सरकारले यसअघि नै सुरुङमार्ग प्रयोगबापत लाग्ने दस्तुर निर्धारण गरिसकेको छ। कार, जिप, भ्यान, पिकअप, ट्र्याक्टर, माइक्रोबस तथा अन्य हलुका सवारीले काठमाडौं प्रवेश गर्दा रु. ६५ र बाहिरिँदा रु. ६० तिर्नुपर्नेछ।

मिनिबस तथा मिनी ट्रकका लागि प्रवेश शुल्क रु. ११५ र बाहिरिँदा रु. ८० तोकिएको छ। बस तथा सिंगल रियर एक्सल ट्रकका लागि प्रवेश गर्दा रु. २६० र बाहिरिँदा रु. २०० लाग्नेछ। मल्टिएक्सल ट्रक तथा भारी उपकरणका लागि काठमाडौं प्रवेश गर्दा रु. ६०० र बाहिरिँदा रु. २५० शुल्क निर्धारण गरिएको छ।

सडक बोर्ड नेपालले रेडियो फ्रिक्वेन्सी आइडेन्टिफिकेसन (RFID) प्रविधिमा आधारित एन–ट्याग प्रणालीमार्फत टोल शुल्क संकलन गर्नेछ, जसबाट सवारीसाधन टोल प्लाजामा नरोकी स्वतः शुल्क कट्टा हुनेछ।

२५ वर्षदेखिको सपना पूरा

काठमाडौं–नौबिसे सडकको विकल्पका रूपमा सुरुङमार्ग निर्माण गर्ने अवधारणा करिब २५ वर्षअघि अघि सारिएको थियो। जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले सन् २००१ मा सम्भाव्यता अध्ययन गरी वैकल्पिक मार्गको सुझाव दिएको थियो। त्यसपछि २०६८ सालमा सरकारले सुरुङ निर्माण गर्ने निर्णय गरेको थियो। लामो अध्ययन, डिजाइन, ऋण सम्झौता र निर्माण प्रक्रियापछि अन्ततः नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनमा आएको हो।

यससँगै नेपालमा आधुनिक सडक सुरुङ निर्माणको युग औपचारिक रूपमा सुरु भएको मानिएको छ। अहिले सिद्धबाबा सुरुङ अन्तिम चरणमा पुगेको छ भने देशका विभिन्न भागमा दुई दर्जनभन्दा बढी सडक सुरुङ आयोजना अध्ययन तथा निर्माणका विभिन्न चरणमा रहेका छन्।

प्रकाशित मिति : ११ श्रावण २०८३, सोमबार  १० : ३६ बजे