३० जेष्ठ २०८३, शनिबार | Sat Jun 13 2026

कांग्रेसले सभामुखमा उम्मेदवारी नदिने



काठमाडौं– नेपाली कांग्रेसले सभामुखमा उम्मेदवारी नदिने भएको छ । कांग्रेस संसदीय दलको मंगलबार बिहान संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको बैठकले सभामुखमा उम्मेदवारी नदिने निर्णय गरेको हो ।

बैठकपछि जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘सभामुख निर्वाचित गर्न यथेष्ठ मत रहेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीले प्रतिनिधि सभाको सभामुख पदको आसन्न निर्वाचनमा आफ्नो उम्मेदवार प्रस्तुत गरिसकेको तथा सभामुख पद आफैमा तटस्थ रहनु पर्ने पद भएको कुरालाई ध्यानमा राख्दै नेपाली कांग्रेस संसदीय दल आफ्नो तर्फबाट प्रतिनिधि सभाको सभामुख पदमा उम्मेदवारी नदिने निर्णय गर्दछ ।’

यस्तै उपभामुख पद भने आफूले पाउनुपर्ने माग राखेको छ । यद्यपि अहिले उपसभामुखको निर्वाचन कार्यतालिका सार्वजनिक नभएकाले कांग्रेसले यसबारे कुनै निर्णय भने गरिसकेको छैन ।

संघीय संसद सचिवालयले प्रतिनिधिसभा सभामुख पदको निर्वाचनका लागि निर्वाचन कार्यक्रम सार्वजनिक गरिसकेको छ । जसअनुसार सभामुख पदको निर्वाचन आगामी माघ १२ गते ३ बजेलाई निर्धारण गरिएको छ ।

संसद सचिवालयले सार्वजनिक गरेको निर्वाचन कार्यक्रम अनुसार मंगलबार बिहान ११ बजेदेखि २ बजेभित्र सभामुखका लागि उम्मेदवारी दर्ता कार्यक्रम राखिएको छ । जसमा सभामुखका उम्मेदवार अग्नि सापकोटाले आफ्नो उम्मेदवारी दर्ता गराइसकेका छन् ।

प्रकाशित मिति : ७ माघ २०७६, मंगलबार  १२ : १७ बजे