८ असार २०८३, सोमबार | Mon Jun 22 2026

एमाले उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेल सुर्खेतबाट पक्राउ



नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेल पक्राउ परेका छन् । गृह मन्त्रालय स्रोतका अनुसार सम्पत्ति शुद्धीकरण अनुसन्धानका लागि पौडेललाई सोमबार सुर्खेतबाट पक्राउ गरिएको हो ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पौडेलमाथि लामो समयदेखि अनुसन्धान गरिरहेको थियो । विभागले जारी गरेको पक्राउ पुर्जीका आधारमा सुर्खेत प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो । कर्णाली प्रदेशका प्रहरी नायब महानिरीक्षक (डीआईजी) जयराज सापकोटाका अनुसार पौडेललाई हाल जिल्ला प्रहरी कार्यालय सुर्खेतमा राखिएको छ र उनलाई काठमाडौँ ल्याउने तयारी भइरहेको छ ।

प्रहरीले उनलाई स्थलमार्ग हुँदै वा सुर्खेतबाट नेपालगन्ज पुर्‍याएर जहाजमार्फत काठमाडौँ पठाउने भन्ने विषयमा सुरक्षा अधिकारीहरूबीच छलफल भइरहेको जनाएको छ । उपाध्यक्ष पौडेल एमालेको आन्तरिक चुनावी समीक्षा एवं संगठन पुनर्गठन कार्यक्रमका लागि आइतबार सुर्खेत पुगेका थिए ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग स्रोतका अनुसार पूर्वअर्थमन्त्री पौडेल र विवादास्पद व्यवसायी दीपक भट्टबीचको आर्थिक सम्बन्ध तथा शंकास्पद सम्पत्ति आर्जनबारे विभागले अनुसन्धान गरिरहेको छ । समाचार स्रोतहरूका अनुसार पौडेल र भट्टबीच लामो समयदेखि ‘अदृश्य व्यावसायिक साझेदारी’ रहँदै आएको आरोप छ । पौडेलले अर्थमन्त्री हुँदा गरेका कतिपय नीतिगत निर्णय र व्यावसायिक ‘डिल’ मार्फत भट्टलाई प्रत्यक्ष लाभ पुर्‍याएको र त्यसबापत प्राप्त रकम अन्य व्यक्तिको नाममा सम्पत्ति खरिद गर्न प्रयोग गरिएको अनुसन्धानमा देखिएको छ ।

पौडेलले बुटवलका एक गाईपालक किसानको नाममा जग्गा-जमिन खरिद गरेको र त्यस सम्पत्तिको वास्तविक लाभ आफैँले लिएको विभागको निष्कर्ष छ । यसलाई अनुसन्धान अधिकारीहरूले ‘अप्रत्यक्ष वास्तविक स्वामित्वको बलियो उदाहरणका रूपमा प्रस्तुत गरेका छन् ।

अनुसन्धानका क्रममा पौडेलको राजनीतिक प्रभाव र सहयोगमा अघि बढेका केही व्यवसायीहरूलाई पछि दीपक भट्टका नाममा सेयर हस्तान्तरण गर्न दबाब दिइएको समेत खुलेको छ । विशेषगरी भैरहवा क्षेत्रका केही नाफामूलक कम्पनीहरूमा भट्टलाई साझेदार बनाइएको र ती कम्पनीहरूबाट भट्टले लिएको करोडौँ रुपैयाँ लाभांशको हिस्सेदार पौडेलसमेत रहेको स्रोतको दाबी छ ।

दीपक भट्ट र विष्णु पौडेलबीचको सम्बन्ध व्यापारिक मात्र नभई राजनीतिक तहसम्मै गहिरो रहेको समाचार स्रोतको भनाइ छ । २०७९ पुस १० मा नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच सरकार गठनको सहमति हुँदा व्यवसायी भट्ट प्रत्यक्ष रूपमा उपस्थित रहेका तस्बिर र कागजातहरू अनुसन्धान टोलीले फेला पारेको छ । भट्टकै राजनीतिक प्रभावका कारण पौडेललाई अर्थमन्त्री बनाइएको र विभिन्न राजनीतिक गठबन्धन तथा सरकार निर्माण प्रक्रियामा समेत भट्टले भूमिका खेल्ने गरेको दाबी गरिएको छ ।

यसका साथै, २०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा रुपन्देही–२ बाट विष्णु पौडेल विजयी हुने क्रममा भएका कतिपय विवादास्पद घटनाहरू (जस्तै: मतगणना रोकिनु, बत्ती काटिनु आदि) मा समेत व्यवसायी भट्टको अदृश्य भूमिका र चलखेल रहेको दाबी समाचारमा गरिएको छ ।

प्रहरी र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पौडेललाई काठमाडौँ ल्याएपछि थप कानुनी प्रक्रिया अगाडि बढाउने तयारी गरेका छन् ।

प्रकाशित मिति : ८ असार २०८३, सोमबार  ८ : ४९ बजे