मदिरासेवन पछि विवाद, छुरा हानेर साथीको हत्या

२०७६ माघ ९, बिहीबार ११:२१

काठमाडौं– भक्तपुरमा छुरा प्रहार गरेर एक किशोरको हत्या भएको छ । घटनामा संलग्नको आरोपमा प्रहरीले २ किशोरलाई पक्राउ गरेको छ ।

छुरा प्रहारबाट भक्तपुर–१० चोखा कमलविनायक बस्ने १५ वर्षीय रोहन सुवालको बुधबार साँझ मृत्यु भएको हो । छुरा प्रहारबाट गम्भीर घाइते सुवाललाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटैमा मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

५ किशोरहरूले सल्लाहमा भक्तपुर नगरपालिका–६ भोलाछेंमा मदिरा सेवन गरेका थिए । मदिरा सेवनका क्रममा उनीहरूबीच सामान्य विवाद भएको थियो । महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार विवादमा आफ्नै साथीले छुरा रोपेर हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

घटनामा संलग्नको अभियोगमा १५ र १६ वर्षीय दुई किशोरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सम्बन्धित समाचार