१० असार २०८३, बुधबार | Wed Jun 24 2026

तीन महिनादेखि अमेरिकामा रहेकी उपप्रमुख भन्छिन्–’म हराएको छैन, कतै लुकेको पनि छैन’



काठमाडौँ — अमेरिकामा पुगेर पार्टीको सम्पर्कमा नआएको आरोप लागेकी कालीकोटको तिलागुफा नगरपालिकाकी उपप्रमुख दन्ता नेपालीले आफू बिरामी परेका कारण नेपाल फर्किन नसकेको प्रतिक्रिया जनाएकी छन् ।

सामाजिक सञ्जाल फेसबुकमा आइतबार स्टाटस लेख्दै उपप्रमुख नेपालीले आफू मेयर रतनबहादुर शाहीलाई जानकारी दिएर अमेरिका गएको भन्दै कतै नलुकेको प्रस्ट्याएकी हुन् । ‘म हराएको पनि छैन, कतै लुकेको पनि छैन’, उनले लेखेकी छन्, ‘म मेयर रतन शाहीलाई जानकारी नदिएर पनि आएको होइन, उहाँले नै भ्रमण स्वीकृत गरेर आएको हो ।’

अमेरिकामा आयोजित गोष्ठीमा भाग लिन कात्तिक पहिलो साता गएकी उपप्रमुख नेपाली फर्किएकी छैनन् । पार्टी र नगरपालिकालाई समेत जानकारी नभएको खबर विभिन्न सञ्चारमाध्यममा आएपछि उनले खण्डन गरेकी हुन् ।

उपप्रमुख नेपालीले आफ्नो स्वास्थ्यमा सामान्य सुधार भएको तर चिकित्सकले निको हुन अझै ५ महिना लाग्ने बताएको उल्लेख गरेकी छन् । ‘अहिले म राम्रोसँग बोल्न पनि सक्दिनँ अलि अलि चल्न सक्ने भएको छु । यसको सबै उपचार भारतकी डा. अञ्जीर कुमारले गर्दै हुनुहुन्छ । म पूर्ण रुपमा निको हुन अझै समय लाग्छ, ५ महिना भनेको छ ।’

अमेरिकाबाट मेयरलाई बारम्बार फोन गर्दा केही प्रतिक्रिया नआएको गुनासो पनि उनले गरेकी छन् ।

उनको फेसबुक स्टाटस यस्तो छ ।

प्रकाशित मिति : १२ माघ २०७६, आइतबार  ११ : ४१ बजे