रौतहट– रौतहटको भारतीय सीमा क्षेत्रमा मंगलबार राति प्रहरी गस्ती टोली र भारतीय अपराधीबीच दोहरो भिडन्त भएको छ ।
भिडन्तमा प्रहरीको गोली लागेर घाइते भएका एकजना मोस्टवान्टेड भारतीयलाई प्रहरी गस्ती टोलीले नियन्त्रणमा लिएको छ ।
जिल्लाको दक्षिणी भेग तथा भारत कुण्डवा चैनपुर थाना क्षेत्रको सामुन्ने पर्ने इशनाथ नगरपालिका–१ बन्जरास्थित नेपाल–भारत सीमासँग जोडिएको बकैया नदीको बाँधमा भारतीय अपराधी र प्रहरी गस्ती टोलीबीच गोली हानाहान भएको थियो ।
गोली हानाहानमा भारत, बिहार मोतिहारी कुण्डवा चैनपुर थानाक्षेत्र अन्तर्गत जटौलिया ग्राम पन्चायत वडा ४ का शेख चाँद अलीको दाहिने खुट्टामा गोली लागेर घाइते भएको प्रहरीले जनाएको छ ।
राति १२ बजेको समयमा प्रहरी गस्ती टोली र अपराधी समूहबीच जम्काभेट हुँदा अपराधी समूहको तर्फबाट गोली चलाएपछि प्रहरीको जवाफी कारवाहीमा मोस्टवान्टेड भनिएका शेख चाँदको खुट्टामा गोली लागेको हो ।
हतियारधारी समूहले एक राउण्ड गोली चलाउँदा प्रहरीले चार राउन्ड गोली चलाएको थियो । प्रहरीले उक्त समूहबाट एउटा कटुवा पेस्तोल, एक राउण्ड गोली र खोका बरामद गरेको छ ।
चाँद अली समूहले एक महिना अगाडि राजपुर नगरपालिकाको एक इँटाभट्टामा बम राखेको थियो । कात्तिक २६ गते मठिया प्रहरी चौकीमा भएको बम विस्फोटको जिम्मा उनकै समूहले फेसबुकमार्फत जिम्मा लिएको थियो । त्यसको केही समयपछि चाँद अली समूहले नै इशनाथ-४ स्थित रामअवध सिंहको मदिरा पसलमा बम राखेको थियो ।