काठमाडाैं– चीनमा रहेका नेपाली ल्याउन शनिबार नेपाल वायुसेवा निगमको वाइडबडी जहाज त्यसतर्फ पठाइने भएको छ। दुई सय ७४ सिटे जहाज चीनको वुहान पठाउने तय भएको हो।
मन्त्रिपरिषद्को सोमबारको बैठकले नेपाली नागरिक उद्धार गर्न आवश्यक सबै प्रक्रिया थाल्न परराष्ट्र, स्वास्थ्य, पर्यटन र रक्षा मन्त्रालयलाई निर्देशन दिएको छ । चीनमा कोरोना भाइरसको संक्रमण नियन्त्रण हुन नसक्दा त्यहाँ रहेका नेपालीले छिटी उद्धार गर्न आग्रह गर्दै आएका छन् ।
परराष्ट्रले नेपालस्थित चिनियाँ दूतावासमार्फत चीन सरकारलाई आगामी फेब्रुअरी १५ (फागुन ३)मा आफ्ना नागरिक उद्धार गर्न चाहेको जानकारी गराएको छ । चीनस्थित नेपाली दूतावासलाई पनि परराष्ट्रले आवश्यक तयारी गर्न निर्देशन दिएको छ ।
पर्यटन मन्त्रालयले नेपाल वायुसेवा निगमलाई जहाज तयारी अवस्थामा राख्न निर्देशन दिइसकेको छ । तीन क्याप्टेन र तीन पाइलटसहितको क्रु टोलीसहितको जहाज चीन जानेछ । जहाजमा सेना र नेपाल प्रहरीका दुई चिकित्सक, दुई नर्ससहितको स्वास्थ्यकर्मीको टोली हुनेछ । जहाज फर्किसकेपछि भने ४८ घन्टा ग्राउन्डेड गरिनेछ ।
मन्त्रिपरिषद्को निर्देशनलगत्तै सोमबार साँझ परराष्ट्र, रक्षा, पर्यटन र स्वास्थ्य मन्त्रालयको संयुक्त तयारी बैठक बसेको थियो । चीनबाट नेपाली विद्यार्थी उद्धारका सम्बन्धमा जिम्मेवारी बाँडफाँड र समन्वय गर्ने विषयमा छलफल भएको थियो ।
चीनबाट एक सय ८० नेपालीलाई स्वदेश फिर्ता गरेपछि दुई हप्ता क्वारेन्टाइनमा राखिनेछ । चिकित्सकका अनुसार क्वारेन्टाइनमा स्वास्थ्यकर्मीको सुविधासहित सुरक्षित स्थानमा राख्ने र अन्य व्यक्तिसँग सम्पर्क हुन नदिने गरी व्यवस्था मिलाइन्छ ।