११ असार २०८३, बिहिबार | Thu Jun 25 2026

कमिसन प्रकरणपछि सञ्‍चारमन्त्री बाँस्कोटाले दिए पदबाट राजीनामा



काठमाडौं । सेक्युरिटी प्रेस खरिदबारे कमिसन प्रकरणमा मुछिएका सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बाँस्कोटाले राजीनामा दिएका छन् । मन्त्री बाँस्कोटाले पदबाट राजीनामा दिइसकेको सभामुख अग्नि प्रसाद सापकोटाले सदनलाई जानकारी गराएका छन् ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सञ्चारमन्त्री बाँस्कोटाको राजीनामा माग गर्दै सदन अवरुद्ध गरेपछि सभामुख सापकोटाले बाँस्कोटाले राजीनामा दिइसकेको बताएका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीले सञ्चारमन्त्री बाँस्कोटालाई राजीनामा दिन निर्देशन दिएका थिए । नेकपा अध्यक्षद्वय ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको संवादका आधारमा प्रधानमन्त्रीले राजीनामा दिन निर्देशन हुन् ।

एक कम्पनीमार्फत कमिसन लिन एजेन्टसँग डिल गरिरहेको अडियो सार्वजनिक भएपछि उनको राजीनामाको माग भएको थियो ।

नैतिकताको आधारमा मन्त्री पदबाट राजिनामा : बाँस्कोटा
गोकुल बाँस्कोटाले ट्वीट गर्दै आफूले सञ्चार तथा सूचना प्रविधि मन्त्रीका रुपमा राजीनामा दिएको जानकारी दिएका छन् । उनले आफ्नो बारे प्रश्न उठेकोले प्रधानमन्त्री समक्ष नैतिकताको आधारमा मन्त्री पदबाट राजिनामा दिएको बताएका छन्।

बाँस्कोटाको राजीनामा स्वीकृत, सञ्‍चार मन्त्रालयको जिम्मा खतिवडा
प्रधानमन्त्री केपी शर्मा ओलीले सूचना तथा संचार प्रविधि मन्त्रीबाट गोकुलप्रसाद बाँस्कोटाले दिएको राजीनामा स्वीकृत गरेका छन् । बाँस्कोटाले बिहीबार राजीनामा दिएका थिए । सेक्युरिटी प्रेस खरिदबाट आउने कमिसनमा बार्गेनिङ गरिरहेको अडियो सार्वजनिक भएपछि मन्त्री बाँस्कोटाले राजीनामा दिएका थिए। उनले सहरी विकास मन्त्रालयको पनि जिम्मेवारी सम्हालिरहेका थिए।

बाँस्कोटाले राजीनामा दिएपछि खाली भएका मन्त्रालयको जिम्मेवारी अर्थमन्त्री युवराज खतिवडा र यातायातमन्त्री वसन्तकुमार नेम्वाङलाई दिइएको राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ।

 

प्रकाशित मिति : ८ फाल्गुन २०७६, बिहिबार  ७ : १३ बजे