१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

प्रधानमन्त्री, चार पूर्वप्रधानन्यायाधीश र पूर्वसभामुखलाई उपस्थित भएर जवाफ दिन सर्वोच्चको आदेश



काठमाडौँ । सर्वोच्च अदालतले मानहानी मुद्दामा प्रधानमन्त्री केपी शर्मा ओली, चार पूर्व प्रधानन्यायाधीश र पूर्वसभामुखलाई बाटोको म्यादबाहेक ७ दिनभित्र आफैं उपस्थित भएर जवाफ दिन आदेश दिएको छ ।

न्यायाधीश मनोजकुमार शर्माको बिहीबारको एकल इजलासले प्रधानमन्त्री ओली, चार पूर्व प्रधानन्यायाधीहरू मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीका साथै पूर्वसभामुख दमननाथ ढुंगानालाई पनि बाटोको म्यादबाहेक ७ दिनभित्र अवहेलना मुद्दामा जवाफ दिनका लागि उपस्थित हुन आदेश दिएको छ ।

प्रधानमन्त्री ओलीले माघ ९ गते प्रतिनिधिसभा विघटनको सर्वोच्चको संवैधानिक इजलासमा विचाराधीन मुद्दामा कानुन व्यवसायीका बारे अभिव्यक्ति दिएका थिए । उनले ‘वकीलहरुले कुरा फिटेका फिट्यै गरेका छन् तर प्रतिनिधिसभा पुनर्स्थापना हुँदैन र बाजे वकीललाई अदालतमा लिएर तमासा देखाएको’ भनेका थिए ।

अदालतमा विचाराधीन मुद्दा माथि उनले अभिव्यक्ति दिएको भन्दै सर्वोच्च अदालतमा प्रधानमन्त्रीविरुद्ध वरिष्ठ अधिवक्ता कुमार शर्मा र अधिवक्ता कञ्चनकृष्ण न्यौपानेले रिट निवेदन हालेका थिए । प्रधानमन्त्री ओलीलाई अवहेलना मुद्दामा अदालतमा उपस्थित गराएर बयान लिई कारबाही गर्नुपर्ने माग कानुन व्यवसायीहरूले गरेका थिए ।

प्रतिनिधिसभा विघटनबारे वक्तव्य जारी गरेका चार पूर्वप्रधानन्यायाधीशविरुद्ध अधिवक्ताद्वय धनजित बस्नेत र लोचन भट्टराईले छुट्टाछुट्टै रिट निवेदन दर्ता गराएका थिए । पूर्वसभामुख ढुंगानाविरुद्ध अधिवक्ता राजाराम घिमिरेले रिट निवेदन दर्ता गराएका हुन् । ढुंगानाले विदेशमा न्यायाधीशरूलाई इजलासबाट सडकमा ल्याएको उदाहरण दिँदै नेपालमा पनि त्यस्तै गर्ने अवस्था नआओस् भनेका थिए ।

प्रकाशित मिति : १५ माघ २०७७, बिहिबार  ६ : ०१ बजे