२६ आश्विन २०८१, शनिबार | Sat Oct 12 2024

हराएको ४० बर्षपछि इलामका दीपक जैसी घर आइपुगे



काठमाडौं । विगत ४० वर्षदेखि विना सुनुवाई भारतको कलकातास्थित जेलमा रहेका इलामका दीपक जैशी आइतवार घर आइपुगेका छन् । उनलाई भाइ प्रकाश चन्द्रले लिएर आएका हुन् । हराएको ४० वर्षपछि फर्केका उनलाई देखेर परिवार र गाउँले हर्सित छन् । यद्यपि उनको मुद्दा सकिएको छैन । हरेक छ महिनामा उनको अवस्थाको बारे जानकारी गराउनु पर्ने बताइएको छ ।

इलाम — ४० वर्षसम्म भारतका विभिन्न जेलमा बन्दी जीवन बिताएर दुर्गाप्रसाद तिम्सिना (दीपक जैसी) माइ नगरपालिका वडा नम्बर १० लुम्बाकस्थित घर पुगेका छन् । घर पुगेसँगै उनले आमालाई भेटेका छन् ।

अदालतको आदेशपछि शनिबार दुर्गाप्रसाद तिम्सिना (दिपक जैसी) कोलकातास्थित दमदम जेलबाट मुक्त गरिएका थिए । उनलाई भाइ प्रकाशचन्द्र र कोलकातास्थित नेपाली वाणिज्य दूतावासका सचिव सतिश थापाले बुझेका थिए ।

उनको घरमा ८५ वर्षीया आमा धनमाया छिन् । दुर्गाप्रसादको पर्खाइमा उनकी आमा, आफन्त र गाउँले नै भेला भएको बताइएको छ ।

को हुन् दीपक ?
दुर्गाप्रसाद तिम्सिना खास नाम रहेको दीपक माइ नगरपालिका वडा नम्बर १० लुम्बाकका हुन् । ज्योतिष विद्यामा चासो राख्ने दीपकको घरको आर्थिक अवस्था निकै नाजुक थियो । ४० वर्ष अघि उनी तोरीको पोको बेच्न भनेर इलामको मङ्गलबारे हिँडेका थिए । परिवारले उनलाई खोजेका पनि हुन् तर हराएको धेरै वर्षसम्म नभेटिएपछि परिवारका सदस्यले उनको मृत्यु भइसकेको आशङ्का गरेका थिए ।

ज्यान मुद्दा
तोरी बेच्न भनेर हिंडेका उनी रोजगारीको खोजीमा भारतको दार्जिलिङ पुगेका रहेछन् । त्यही बस्दै जाँदा उनलाई प्रहरीले पक्राउ गरेका रहेछ, उनीमाथि कर्तव्य ज्यान मुद्दा लागेको रहेछ । यद्यपि उनले हत्या गरेको अस्वीकार गरेका छन् । त्यही मुद्दामा उनी विभिन्न जेल हुँदै कोलकाताको दमदम कारागारमा पुगेका बताइएको छ । उनको मुद्दा ४० वर्षसम्म पनि किनारा नलागेको र सोही मुद्दाको सुनुवाइ पर्खिरहेको थियो ।

यसरी भयो भेट
२०७० सालमा दीपकको नामबाट परिवारले एउटा चिठ्ठी पाए । त्यसपछि परिवारले उनको अवस्थाका बारेमा थाहा पाएका हुन् । कानुन व्यवसायी सतिशकृष्ण खरेल र अरुण सिंह लगायतले प्रकाशचन्द्रलाई सम्पर्क गरेको बताइएको छ । भाइ प्रकाशचन्द्रलाई कारागारमा रहेका दीपक उनका दाजु हो वा होइन भनेर निर्क्योल गर्न कोलाकातास्थित महावाणिज्य दूतावासे पनि फोन गर्यो ।

त्यसपछि दाईलाई भेट्न उनी कोलकाता पुगे । दीपकले बताए अनुसार कोलकाताको दमदम कारागारमा गत फागुन ८ गते पुगेका थिए । उनले शरीर कामेको, डर र त्रासले बाँचेको जस्तो अवस्थामा दीपकलाई भेटे । आफ्नै दाजु हो वा होइन भनेर प्रकाशचन्द्रले दीपकलाई परिवारका सदस्य तथा गाउँका बारेमा सोधे । उनले सही उत्तर दिएपछि उनी दीपक नै हुन् भन्ने कुरामा ढुक्क भए ।

प्रकाशित मिति : ८ चैत्र २०७७, आइतबार  ५ : ५८ बजे