२६ भाद्र २०८१, बुधबार | Wed Sep 11 2024

बाढीपहिरा पीडितका लागि तत्कालीन र दीर्घकालीन योजना बनाउँछौं: प्रधानमन्त्री देउवा



प्रधानमन्त्री शेरबहादुर देउवाले बाढीपहिरा, डुबानजस्ता प्राकृतिक विपत्तिबाट पीडित नागरिकलाई राहत दिन तत्कालीन र दीर्घकालीन योजना बनाएर सरकार अघि बढ्ने बताएका छन् ।

बेमौसमी वर्षासँगै आएको बाढीपहिरा, डुबान र नदी कटानले पुर्याएको मानवीय तथा भौतिक क्षतिको बिहीबार सुदूरपश्चिम प्रदेशमा स्थलगत निरीक्षण अवलोकन गरेका प्रधानमन्त्रीले शुक्रबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा विपत्तिबाट पीडितलाई राहत उपलब्ध गराइने र क्षति न्यूनीकरणका लागि तत्कालीन तथा दीर्घकालीन समाधानका उपाय खोजिने बताएका हुन् ।

“बेमौसमी वर्षासँगै उत्पन्न विपत्तिले देशभर नै क्षति पुर्याएको छ”, उनले भने, “ यो वर्षाले सुदूरपश्चिम प्रदेशमा ठूलो क्षति भएको छ, धानबालीमा समेत क्षति पुगेको छ ।” प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद्को आकस्मिक बैठकले बाढीपहिरा, डुबानको समस्याबाट पीडित नागरिकलाई राहत दिने निर्णय गरिसकेको उल्लेख गर्दै यस विषयमा काठमाडौँ फर्केपछि पुनः छलफल गरिने बताए ।

प्रधानमन्त्री देउवासँगै अर्थमन्त्री जनार्दन शर्मा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले, पूर्वमन्त्रीहरु एनपी साउद, रमेश लेखक, वीरबहादुर बलायर सहभागी थिए । यही असोज ३१ गतेदेखि तीन दिनसम्म परेको अविरल वर्षाका कारण आएको बाढीपहिरा र डुबानका कारण मुलुकभर १०१ को मृत्य तथा ४१ जना बेपत्ता छन्। सुदूरपश्चिम प्रदेशमा मात्र ३१ को मृत्यु भइसकेको छ भने २३ जना बेपत्ता भएका छन् ।

प्रकाशित मिति : ५ कार्तिक २०७८, शुक्रबार  २ : ०९ बजे