काठमाडौं । विवेकशील साझा पार्टीकी नेत्री रञ्जु दर्शनाले पार्टी परित्याग गरेकी छन् । उनले बिहीबार एक विज्ञप्ति जारी गरी पार्टीको मूल नेतृत्वप्रति असन्तुष्टि जनाउँदै पार्टीमा लिएको जिम्मेवारीका साथै साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट अलग भएको घोषणा गरेकी हुन् ।
“म आफूले लिएको सम्पूर्ण जिम्मेवारी र हरेक पदबाट साधारण सदस्यसमेत नरहने गरी विवेकशील साझा पार्र्टीसँगको संलग्नताबाट आफूलाई स्वतन्त्र पार्दछु”, विज्ञप्तिमा भनिएको छ ।
आगामी स्वतन्त्र नागरिकको भूमिकामा मात्रै राजनीतिरुपमा सक्रिय हुने भन्दै नेत्री दर्शनाले सो पत्रमा राजनीतिक यात्राको मोडमा वैकल्पिक राजनीति भनेर अघि बढिरहेको सङ्गठन, मूल नेतृत्व नै सही नभएको आरोप लगाएकी छन् । उनले तत्कालीन विवेकशील नेपाली दलको संस्थापक सदस्य थिए । उनी स्थानीय तहको निर्वाचनमा काठमाडौँ महानगरपालिकाको प्रमुख पदको उम्मेदवारसमेत बनेकी थिइन् ।
पार्टीमा अध्यक्ष रविन्द्र मिश्रलाई संघीयता, गणतन्त्र र धर्म निरपेक्षताबाट पछि हटेर त्यसको बिरुद्धमा पार्टीलाई लैजान चाहेको भन्दै विवाद भएको छ । त्यही क्रममा मिश्रले पार्टी एक संयोजक मिलन पाण्डेलाई पार्टीबाट निस्कासित गरिसकेका छन् ।