२६ आश्विन २०८१, शनिबार | Sun Oct 13 2024

अर्थमन्त्रीलाई असहयोग गरेकाले गभर्नरलाई कारवाही: प्रधानमन्त्री



काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले अर्थमन्त्री जनार्दन शर्माले असहयोग गरेको भने पनि गभर्नरलाई हटाउने निर्णय गरिएको बताएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार बसेको सत्ता गठबन्धनको बैठकमा नेताहरुले प्रसंग उठाएपछि उनले अर्थमन्त्रीले असहयोग गरेको भनेपछि हटाइएको बताएका हुन् ।

साथै उनले सरकारको उक्त निर्णय उपयुक्त भएको पनि बताएका थिए ।

मन्त्रिपरिषद्को गत बिहीबार बसेको बैठकले गभर्नर महाप्रसाद अधिकारीलाई पदमुक्त गर्न सर्वोच्च अदालतका पूर्वन्यायाधीशको नेतृत्वमा तीन सदस्यीय जाँचबुझ समिति गठन गरेको थियो । लगत्तै गभर्नर अधिकारी निलम्बनमा परेका छन् । अधिकारीलाई निलम्बन गरिएको विषयमा सत्तारुढ दलकै नेताहरुले असन्तुष्टी जनाएका छन् भने प्रतिपक्षी एमालेले विरोध जनाएको छ ।

बैठकमा कांग्रेस महामन्त्री गगनकुमार थापा र नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले अर्थतन्त्रको संकट उत्पन्न भइरहेको बेला गभर्नरमाथि थालेको कारवाहीबारे प्रश्न उठाएको स्रोतले जनाए । जवाफमा प्रधानमन्त्री देउवाले गभर्नर अधिकारीले अर्थमन्त्रीलाई असहयोग नगरेको कारण कारबाही गरिएको बताएका थिए ।

‘अर्थमन्त्रीजीले मलाई गभर्नरले असहयोग गर्नुभयो भन्नुभयो । यस्तो बेलामा गभर्नरले सरकारलाई सहयोग गर्नुपर्ने थियो । त्यसैले सरकारको यो निर्णय ठीकै भो भन्ने लागेको छ,’ प्रधानमन्त्री देउवालाई उदृत गर्दै स्रोतले भन्यो ।

प्रकाशित मिति : २८ चैत्र २०७८, सोमबार  ४ : ३७ बजे