२९ पुस २०८१, सोमबार | Mon Jan 13 2025

रामायाण सर्किटहुँदै धार्मिक पर्यटकसहित आइपुग्यो भारतीय रेल



 

भारतीय धार्मिक पर्यटक बोकेर रामायाण सर्किट हुँदै आएको रेल जनकपुरधाम आइपुगेको छ । ‘भारत गौरव पर्यटक रेल’ नामक रेल बिहीबार दिउँसो जनकपुरधाम रेल्वे स्टेशनमा आइपुगेको हो ।

भारतको राजधानी नयाँ दिल्लीबाट मंगलबार साँझ छुटेको यो रेल रामायण सर्किटअन्तर्गत नन्दीग्राम, बनारस, प्रयागराज, चित्रकुट, नासिक, हम्पी, रामेश्वरम् अयोध्या, सितामढी, जयनगर हुँदै जनकपुरधामको रेल्वे स्टेशनमा आइपुगेको हो ।

मुख्यमन्त्री लालबाबु राउत, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री शत्रुद्यन महतो, जानकी मन्दिरका महन्थ रामतपेश्वर दाससहितकाले रेल र पर्यटकको स्वागत गरेका थिए । रामायण सर्किटलाई पर्यटकीय पथ बनाउने योजना अनुसार यो अभियान सुरु गरिएकफ हफ ।

रेल र पर्यटकलाई हेर्नका लागि रेल्वे स्टेशनमा ठूलो घुइँचो लागेको थियो । रेलमा ६ सय जना धार्मिक पर्यटक रहेको बताइएको छ । उनीहरु सबैलाई बिहीबार जनकपुरधाममा बास बस्ने व्यवस्था मिलाइएको छ ।

उनीहरु जानकी मन्दिर, धनुषाधाम दर्शन गर्नुका साथै साँझको गंगा आरतीमा समेत सहभागी हुने बताइएको छ । भारतीय राजदूतावासको समन्वयमा ‘भारत गौरव पर्यटक रेल’ आयोजना गरिएको हो । भारतीय राजदूतावासका अनुसार सो रेलको प्रत्येक डिब्बामा भारतीय स्मारक, नृत्य, परिकार, पोशाक, पर्व, वनस्पति तथा जीवजन्तु, योग, लोककलाजस्ता भारतको कला, संस्कृति, परम्परा, सम्पदालगायत झल्को देख्न पाइने छ ।

प्रकाशित मिति : ९ असार २०७९, बिहिबार  ५ : ४८ बजे