भारतको सिक्किमका पूर्व मुख्यमन्त्री तथा नेपाली भाषाका बरिष्ठ साहित्यकार डा. पवन चाम्लिङ्ग राईलाई सम्मान गरिएको छ । युनाईटेड किरात राई अर्गनाइजेसन अफ अमेरिका (युक्रा) ले न्युयोर्कको ज्याक्सन हाइटको याक रेष्टुरेण्टमा एक बिशेष कार्यक्रम आयोजना गरी पूर्व मुख्यमन्त्री राईलाई सम्मान गरेको हो ।
पच्चिस वर्षसम्म सिक्किमको सत्तामा निरन्तर रहि सिक्किमेली जनताको जीवनमा आमुल परिवर्तन ल्याउन सफल, कुशल नेता डा. चाम्लिङ्गले सम्पूर्ण नेपाली जाति र भाषीहरुको उन्नति र प्रगतिमा साथ दिएको रहेको उल्लेख गर्दै आपसी सद्भावबाट मात्रै एक अर्काको बीचमा स्वाभिमानपूर्वक बाँच्ने वातावरणको सिर्जना गर्न सकिने बताए आयोजकको भनाई रहेको छ ।
उनले आफु सिक्किमको मुख्य मन्त्री रहँदा सिक्किम राज्यमा बिभिन्न भाषाहरुको स्कुलहरु बनाएको, धार्मिक मठ-मन्दिरहरु, गुम्वा निर्माण गरेको स्मरण गर्दै किरातीहरुको सामुहिक मांगखिम पहिलो पटक सिक्किममा नै निर्माण गरिएको जानकारी दिए । पूर्व मुख्यमन्त्री डा. चाम्लिङ्ले नयाँ कुरा गर्दा निकै बाधा अड्चनहरु आए पनि ईमान्दार भइ निरन्तर रुपमा कोशिष गरिरहँदा सफलता मिलेको पनि बताए ।
सिक्किमलाई अर्गानिक राज्य बनाउने संकल्प गर्दा आफुले थुप्रै चुनौतिको सामना गर्नु परेको अनुभव समेत सुनाए । आफुलाई जनताले रुचाएका कारण नै यति लमो समयसम्म मुख्यमन्त्रीको रुपमा जनताको लागि काम गरेको उल्लेख गर्दै आफु सधै नेपाली जाति र भाषीको विकास र उत्थान सक्रिय रहने बताए । पूर्खाहरुले भने जस्तै इतिहासबाट सिकेर वर्तमानलाई सपार्नु पर्ने पूर्व मुख्यमन्त्री डा. चाम्लिङको भनाइ छ । ”समय अनुसार परिवर्तन हुँदै आजको विश्वमा हामी ज्ञान बहादुर, विजय बहादुर र विश्व विजेता हुनुपर्ने र त्यसका लागि युवा पुस्तालाई शिक्षामा उत्प्रेरित गर्नुपर्छ” उनले भने, ”नेपाली जातिलाई कसरी अन्य व्यक्तिहरु जस्तै समान रुपमा प्रतिस्पर्धात्मक बनाउन सक्छौं त्यसतर्फ ध्यान दिन दिनु पर्दछ ।”
सफल व्यक्तिहरुको प्रसंग उल्लेख गर्दै उनले आफ्नो जाति र नेपाली भाषीलाई कसरी उत्थान गर्न सकिन्छ त्यसतर्फ काम गर्नुपर्ने र सबै नेपालीहरुले एक अर्काको अस्तित्वलाई स्वीकार्दै सबै नेपाली एकजुट हुनु पर्ने बताए । नेपालीहरु राष्ट्रिय हित तथा नेपाली जातिको पहिचान र जातीय हितमा एक हुनुपर्ने पूर्व मुख्यमन्त्री डा. चाम्लिङ्गको जोड थियो । एक फरक प्रसंगमा उनले किनी खाने भन्दा बेची खाने राम्रो, अझ आफै उत्पादन गरी अरुलाई समेत बचाउँदै बेची खानेहरु त झन् संसार कै असल मानिस भएको उल्लेख गर्दै अमेरिकामा बसोवास गरिरहेका नेपालीहरुलाई अमेरिकामा सार्है सस्तोमा प्राप्त हुने धेरै भूमीको फाइदा उठाउँदै कृषि उपार्जनमा लाग्न पनि सुझाव दिए ।
युक्राका सल्लाहकार तथा पूर्व केन्द्रिय अध्यक्ष बिष्णु राईले संसार भर छरिएर रहेका किरात राईहरूको सामाजिक, सांस्कृतिक संघ संस्थाहरूको प्रतिनिधित्व हुने गरी साझा विचार र साझा उदेश्यमा केन्द्रित भई ग्लोवल किरात राई अर्गनाईजेशनको आवश्यक्ता महसुस गरिएको बताए । उनले यस्ता संस्थाले किरात राईहरुको भाषा, परम्परा, संस्कृति र ईतिहासलाई संरक्षण र सम्वर्धन गर्ने सन्दर्भमा प्रभावकारी भुमिका खेल्न सक्ने विचार राखे ।
कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधिहरुले पूर्व मुख्यमन्त्री डा. चाम्लिङो सफल कार्यकालको प्रशंसा गरेका थिए । नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना) का अध्यक्ष राज कुमार बिष्टले पूर्व मुख्यमन्त्री डा. चाम्लिङको २५ वर्षे सफल कार्यकाल धेरै जनजातिको लागि प्रेरणा र गौरव रहेको बताए । नेपाल अमेरिका पत्रकार महासंघ (नेजा) का कार्यवाहक अध्यक्ष मच्छे गुरुङले पूर्व मुख्यमन्त्री डा. चाम्लिङ लाखौं जनजातिको लागि एक राजनीतिक आदर्श र प्रेरणाको श्रोत भएको उल्लेख गर्दै उनीबाट धेरै युवा पुस्ताले राजनीतिमा किन प्रवेश गर्ने भन्ने शिक्षा प्राप्त गर्न सकिने तर्क गरे ।
निजामती कर्मचारीमा युवा राईहरुको उपस्थिति उल्लेख्य भएको बताउँदै का.वा. अध्यक्ष गुरुङले नीति निर्माण तहमा कुनै पनि जातिको र वर्गको प्रतिनिधित्व नभएसम्म आदिवासी जनजातिका मुद्दाहरुले कुनै ठाउँ नपाउने भन्दै यस्ता संस्थाहरुले युवाहरुलाई राजनीतिको महत्व बुझाउनु पर्ने बताए । मेयर एरिक एडम्सका एशियन अफेयर्स एडभाइजरी काउन्सिल मेम्बर तथा कलेज पोइन्ट सिभिक एण्ड ट्याक्स् पेयर्स एसोसियसनका अध्यक्ष नवराज केसीले पूर्व मुख्यमन्त्री डा. चाम्लिङको भूमिका र योगदान असाधारण रहेको बताए । युक्राका संस्थापक अध्यक्ष शिव कुमार राईले डा. चाम्लिङलाई अभिनन्दन पत्र हस्तान्तरण गर्दै मातृभूमी भन्दा टाढा रहँदा आफ्नो भाषा, संस्कृति र रितीरिवाज सम्झेने बताउँदै भाषा, परम्परा, संस्कृति र ईतिहासलाई संरक्षण र सम्वर्द्धन गर्दै नयाँ पिढीमा पुस्तान्तरण गर्न सकियोस् भन्ने उदेश्यले युनाईटेड किरात राई अर्गनाइजेसन अफ अमेरिका (युक्रा) को स्थापना गरिएका बताए ।
युक्राका जय राईले डा. चाम्लिङ कुशल राजनेता मात्र नभएर वरिष्ठ नेपाली साहित्यकार र साँचो अर्थमा मुन्धुमी आदर्श र शिक्षालाई आफ्नो जीवनमा अनुशरण गर्ने पारुहाङ र सुम्निमाका एक असल सन्तान रहेको भनी प्रशंसा गरे । पूर्व मुख्यमन्त्री चाम्लिङलाई संस्थाको तर्फबाट सम्मानपत्र प्रदान गर्दै अध्यक्ष राईले उनी सम्पूर्ण नेपालीको एक आदर्श अभिभावक भएकोमा गर्व लागेको बताए ।
कार्यक्रमको दोस्रो सेसनमा पूर्व मुख्यमन्त्री चाम्लिङको सम्मानमा उनकी श्रीमती टीकामाया राई, छोरी-ज्वाई कोमल चाम्लिङ र अनिल राई उपस्थित थिए । युक्राका सेन्ट्रल भाइस प्रेसिडेन्ट केशवराम राईको नेतृत्वमा विशेष सुरक्षा व्यवस्थासहित कार्यक्रमको आयोजना गरिएको थियो । स्वागत तथा सम्मान समारोहक़ो सञ्चालन कानूनी सल्लाहकार सुरेश चामलिङले गरेका थिए ।