प्रदेश १ का वन, वातावरण तथा भू-संरक्षण मन्त्री शेखरचन्द्र थापाको डेंगुबाट निधन भएको छ । ५६ वर्षीय थापा केही दिनअघि डेंगीबाट संक्रमित भएकोमा बुधबार बिहान निधन भएको हो ।
विराटनगरस्थित नोबेल अस्पतालमा उपचारका क्रममा बिहान साढे १० बजे निधन भएको बताइएको छ । मोरङ क्षेत्र नम्बर ३(१) मा कांग्रेसबाट प्रदेशसभा उम्मेदवार समेत रहेका थापा उम्मेदवारी दर्ताको भोलिपल्ट असोज २४ गते काठमाडौंको ह्याम्स अस्पताल भर्ना भएका थिए ।
अस्पताल भर्ना भएपछि उनले चुनाव प्रचारप्रसारका क्रममा घरदैलो कार्यक्रममा सहभागी हुन सकेका थिएनन् । उनलाई मंगलबार ह्याम्सबाट विराटनगरस्थित नोबेल अस्पताल सारिएको थियो । मंगलबार परीक्षणका क्रममा थापालाई निमोनियासमेत देखिएको थियो ।
पथरी शनिश्चरे-८ स्थायी घर भएका थापा लामो समयसम्म तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाका स्वकीय सचिव रहेका थिए । उनका श्रीमती, एक छोरा र एक छोरी रहेका छन् ।