२१ मंसिर २०८१, शुक्रबार | Fri Dec 6 2024

सभामुखमा एमालेको घिमिरे र कांग्रेसबाट न्यौपानेको मनोनयन दर्ता



प्रतिनिधिसभाको सभामुख पदका लागि सत्ता साझेदार दलका तर्फबाट नेकपा (एमाले) का सांसद देवराज घिमिरे र प्रतिपक्षीको तर्फबाट नेपाली कांग्रेसका नेत्री ईश्वरीदेवी न्यौपानेले मनोनयन दर्ता गराएका छन् । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनको ल्होत्से हलमा व्यवस्था गरिएको निर्वाचन अधिकृतको कार्यालय पुगेर उनीहरुले मनोनयन दर्ता गराएका हुन् ।

घिमिरेको प्रस्तावकमा एमालेका सांसद सुवास नेम्वाङ, समर्थकमा नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष एवं उपप्रधानमन्त्री रवि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवं उपप्रधानमन्त्री राजेन्द्र लिङ्देन छन् ।

विसं २०१३ मा ताप्लेजुङमा जन्मनुभएका घिमिरे २०५६ देखि २०६० सालसम्म राष्ट्रियसभा सांसद थिए । उनी प्रतिनिधिसभा सदस्यमा झापा क्षेत्र नं २ बाट निर्वाचित भएका थिए । उनले विद्यार्थी सङ्गठनबाट राजनीति शुरु गरेका हुन् । उनी विसं २०४९ मा एमालेको केन्द्रीय सदस्य थिए । घिमिरेले एमालेको स्वास्थ्य विभागको अध्यक्ष भएर काम गरेका थिए । हाल उनी एमालेको स्थायी समिति सदस्य छन् ।

कांग्रेसकी नेत्री पार्टीका महामन्त्री विश्वप्रकाश शर्मा र समर्थकमा नेकपा (एकीकृत समाजवादी)का नेता प्रकाश ज्वाला छन् । न्यौपानेको जन्म २०१६ सालमा दाङमा भएको थियो । उनी समानुपातिक निर्वाचन प्रणालीबाट सांसद निर्वाचित भएकी हुन् ।

न्यौपाने नेपाली कांग्रेसको १२औँ महाधिवेशनदेखि केन्द्रीय सदस्यका रुपमा रहेकी छन् । उनी २०६४ र २०७० सालको संविधानसभा सदस्य थिए । तत्कालीन व्यवस्थापिका–संसद्मा उनी पार्टीको सचेतक थिए । विद्यार्थी आन्दोलनबाट राजनीति सुरु गरेका न्यौपाने नेपाल महिला सङ्घको केन्द्रीय उपाध्यक्ष भइसकेकी छन् ।

प्रतिनिधिसभाका सभामुखको निर्वाचन यही माघ ५ गते बिहान ११ बजे हुँदैछ । उक्त बैठकमा सभामुख पदमा निर्वाचित गरियोस् भनी प्रस्तावकले प्रस्ताव र समर्थकले समर्थन गर्ने कार्यतालिका छ । त्यसलगत्तै उम्मेदवारीको सूचनामाथिको सामूहिक रुपमा छलफल हुने र दर्ता क्रमानुसार निर्णयार्थ प्रस्तुत गरिनेछ । प्रतिनिधिसभाको गत पुस २६ गतेको बैठकले माघ ५ गते सभामुखको निर्वाचन गर्न निर्वाचन तालिका प्रकाशित गर्न निर्देशन दिएको थियो ।

सङ्घीय संसद्को पहिलो बैठक बसेको १५ दिनभित्र प्रतिनिधिसभाका सदस्यमध्येबाट सभामुख निर्वाचित गर्ने सवैधानिक व्यवस्था छ । सभामुख र उपसभामुखमध्ये एक महिला र फरक दलको हुनुपर्नेछ । नेपाली जनताको सर्वभौमसत्ता सम्पन्न सर्वोच्च थलोका रुपमा प्रतिनिधिसभा रहिआएको छ ।

प्रकाशित मिति : ४ माघ २०७९, बुधबार  ५ : ०४ बजे