२८ फाल्गुन २०८२, बिहिबार | Thu Mar 12 2026

काम सुरु गर्न अघि १५ मिनेट योगाभ्यास र ध्यान गर्न गृह मन्त्रालयको निर्देशन



उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले आफू मातहतको मन्त्रालयका कर्मचारीलाई अफिस आएर काम सुरु गर्नु अघि १५ मिनेट योगाभ्यास र ध्यान गर्न निर्देशन दिएका छन् ।

उनले गृहमन्त्रालय, त्यसअन्तर्गत उपत्यकामा रहेका विभाग र कार्यालयका अधिकृतदेखि माथिल्लो तहसम्मका कर्मचारीलाई कार्यालयमा हाजिर भएपछि हरेक दिन योगाभ्यास र ध्यान गरेर मात्र काम सुरु गर्ने नियम ल्याएका हुन् ।

गृहमन्त्रीको निर्देशनअनुसार उपसचिव भीमकान्त शर्माले मातहतका निकायलाई बुधबार मात्रै परिपत्र गरिसकेका छन् ।

मन्त्रालयअन्तर्थतका महाशाखाका अधिकृतस्तरका सबै कर्मचारीहरुले हरेक दिन बिहान सवा १० बजेभित्र अनिवार्य कम्तीमा १५ मिनेट ध्यान गरेर मात्रै कार्य प्रारम्भ गर्ने व्यवस्था मिलाउन मन्त्रालयका शर्माले आग्रह गरेका छन्।

त्यस्तै, अन्य कर्मचारीहरुलाई योग प्रशिक्षण प्रदान गरिसकेपछि त्यहीअनुरुप योग-ध्यान गर्ने व्यवस्था र वातावरण बनाउन पनि महाशाखाहरुलाई मन्त्रालयले भनेको छ।

केही दिनअघि मात्रै गृहमन्त्री श्रेष्ठले तनाव व्यवस्थापनका लागि योग-ध्यान गर्नुपर्ने बताएका थिए।

मन्त्री श्रेष्ठ आफैं योग-ध्यानमा विश्वास गर्छन्। उनी विभिन्न योगगुरु र बाबाजीसँग बाक्लो संगत भएका नेपाली नेतामध्ये एक पर्छन्।

उनले पछिल्लो पटक नेपाल आएका भारतमा धर्मगुरुका रुपमा चिनाउने बाबा बागेश्वर धामलाई पनि होटलमै पुगेर भेटेका थिए।

प्रकाशित मिति : १० आश्विन २०८०, बुधबार  १० : ०२ बजे