३० माघ २०८१, बुधबार | Wed Feb 12 2025

मनाङका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा



भ्रष्टाचारको अभियोगमा निलम्बनमा रहेका कांग्रेसका सांसद टेकबहादुर गुरुङको सर्वोच्च अदालतले निलम्बन फुकुवा गरिदिएको छ । न्यायाधीशद्वय मनोजकुमार शर्मा र विनोद शर्माको इजलासले शुक्रबार सांसद गुरुङको निलम्बन फुकुवा गर्न आदेश दिएको हो ।

संविधान र प्रतिनिधि सभा नियमावलीमा निलम्बनको व्यवस्था नभएकोले भ्रष्टाचार निवारण ऐनका आधारमा सांसदजस्तो जनप्रतिनिधिमूलक पद निलम्बन गर्न नहुने भनी सर्वोच्चमा रिट दायर गरिएको र चुनाव लड्न पाउने तर निर्वाचित भएपछि सांसदका रूपमा काम गर्न नपाउने भन्ने व्यवस्था अमिल्दो रहेको जिकिर रिटमा गरिएको थियो ।

मनाङबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित गुरुङलाई गत पुस १२ गते संसद सचिवालयले निलम्बन गरेको थियो । सांसद गुरुङ भृकुटीमण्डपस्थित फनपार्कको जग्गा भाडामा लिंदा भ्रष्टाचार गरेको अभियोगमा विशेष अदालतबाट दोषी ठहर भएका व्यक्ति हुन् ।

उनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७५ माघ २१ गते विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

कुनै पनि सार्वजनिक पदाधिकारीविरूद्ध भ्रष्टाचार मुद्दा दायर भएमा स्वतः निलम्बन हुने भ्रष्टाचार निवारण ऐनको व्यवस्था छ । उक्त कानुनी व्यवस्था कार्यान्वयन गराउन अख्तियारले २०७९ पुस ८ गते संघीय संसद सचिवालयमा पत्राचार गरेको थियो ।

विशेष अदालतका तत्कालीन अध्यक्ष श्रीकान्त पौडेल तथा सदस्यद्वय शालिग्राम कोइराला र बलभद्र बास्तोलाको इजलासले गुरुङलाई २०७९ फागुन १६ गते भ्रष्टाचारी ठहर गरेको थियो । बद्रीप्रसाद न्यौपाने महिला, बालबालिका तथा समाज कल्याणमन्त्री भएका बेला भृकुटीमण्डपको ६० रोपनी जग्गा प्रतिमहिना ५ लाख ५५ हजार रूपैयाँ भाडामा १० वर्षका लागि काठमाडौं फनपार्कलाई दिने निर्णय भएको थियो । गुरुङ त्यसबेला भृकुटीमण्डप फनपार्कको मेला सञ्चालक थिए ।

प्रकाशित मिति : १६ चैत्र २०८०, शुक्रबार  ५ : ५७ बजे