३५ वर्षसम्म गोरखाको चुमनुब्री गाउँपालिकास्थित छेकम्पारमा बिताएका प्रकाश तामाङ (काले मोक्तान) लाई घरमै पुगेर जिल्लाका अधिकारीहरुले नागरिकता प्रदान गरेका छन् ।
प्रकाशलाई भोजपुरको षडानन्द नगरपालिका–१० छाप्लेगाउँ (साम्पाङ) मा अवस्थित घरमै नागरिकता प्रदान गरिएको हो ।
नगरपालिकाका मेयर सुरेन्द्र उदासले नागरिकता हस्तान्तरण गरे । नागरिकता हस्तान्तरण कार्यक्रममा वडाध्यक्ष प्रेम दोर्जी शेर्पा, इलाका प्रशासन कार्यलय प्रमुखा बिनोद ज्ञावली, नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत मोहन चापागाईं समेत उपस्थित थिए ।
हालै युट्युब च्यानल ‘हेर्ने कथा’ ले उनको कथा ‘हराएका वर्षहरू’ नामक बृत्तचित्र मार्फत सार्वजनिक गरेपछि सबैतिर उनी प्रति चासो ब्यक्त भएको थियो ।
शनिबार बिहान काठमाडौँ अन्तर्राष्ट्रिय विमानस्थलबाट बुद्ध एयरको जहाजमा तुम्लिङटार एयरपोर्ट हुँदै प्रकाश घर पुगेका थिए । उनको नारिकता नभएकोले उनलाई सहयोग गर्न चाहनेहरुले सहयोग गर्न सकेका थिएनन् ।
उनी यतिका वर्षसम्म छेकाम्पारको एक घरमा परिवार जसरी नै बसेका थिए । उनी घर संहाल्ने र चौरी गोठ हेर्ने काम गर्थे ।
उनी बसेको घरमा साहुको परिवारले उनलाई दश लाख रुपैयाँ, चुननुब्री गाउँ पालिकाले १ लाख रुपैयाँ दिने जनाएको छ ।
यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले पनि प्रकाशलाई तत्काल नागरिकता दिने वातावरण बनाउन निर्देशन दिएका थिए । उनलाई भेट्न काठमाडौं बोलाएको बताइएको छ ।
भोजपुर घर भएका युवाहरूले अभियान नै चलाएर प्रकाशलाई नागरिकता दिलाउने र बैंक खाता खोल्नका लागि पहल गरिरहेका छन् ।
यस्तै, प्रकाशका लागि सोही क्षेत्रका सांसद सुदन किराँतीले आफ्नो नेतृत्वमा अभियान चलाएर घर समेत निर्माण गरिदिने प्रतिबद्धता गरेका छन् ।









