३० मंसिर २०८२, सोमबार | Tue Dec 16 2025

५०१ आगलागीमा ६ जनाको मृत्यु, ३८ परिवार विस्थापित



एक महिनामा देशका विभिन्न क्षेत्रमा लागेको आगलागीबाट ६ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एक पुरुष, चार महिला र एक बालक रहेका छन् । ती आगलागीका घटनमा ३० पुरुष, २६ महिला, ६ बालक र तीन बालिका घाइते भएका छन् ।

एक महिनामा देशभर ५०१ आगलागीका घटना भएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक दिनेशकुमार आचार्यले जानकारी दिए । आगलागीबाट ८७ घर र ५७ गोठमा क्षति भएको छ । १४६ पशुचौपाय मरेका छन् । घटनापछि ३८ परिवार विस्थापित भएका छन् ।

आगलागीबाट रु ४० करोड ४८ लाख बराबरको क्षति भएको छ । विभिन्न स्थानमा लागेको आगलागी नियन्त्रणका लागि तीन हजार ६१४ प्रहरी परिचालन गरिएको उनले जानकारी दिए ।

सबैभन्दा बढी कोशी प्रदेशमा १३५ आगलागीका घटना भएका थिए । मधेशमा १०५, बागमतीमा ४४, काठमाडौं उपत्यकामा ४९, गण्डकीमा ३३, लुम्बिनीमा ६४, कर्णालीमा ३० र सुदूरपश्चिममा ४१ आगलागीका घटना भएका प्रवक्ता आचार्यले बताए ।

वर्षा कम भएको र सुक्खा मौसमका कारण देशका ठाउँठाउँमा आगलागीका घटना भइरहेका छन् । अब आगलागीका घटना बढ्ने भएकाले सचेत हुन गृह मन्त्रालयले सबैमा अनुरोध गरेको छ ।

प्रकाशित मिति : ७ चैत्र २०८१, शुक्रबार  ३ : ४८ बजे