३० फाल्गुन २०८२, शनिबार | Sat Mar 14 2026

सरकार विवाह गर्ने उमेर घटाउने विषयमा छलफलमा



सरकारले विवाह गर्ने कानुनी उमेर घटाउने विषयमा छलफल अघि बढाएको छ । गृहमन्त्री रमेश लेखकले हाल २० वर्ष रहेको विवाहयोग्य उमेर घटाउने वा ‘रोमियो जुलियट कानून’ ल्याउने विषयमा सरकार छलफलमा रहेको जानकारी दिएका छन् । 

आइतवार प्रतिनिधिसभाअन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा गृहमन्त्री लेखकले विवाह गर्ने उमेर सम्बन्धी कानुन संशोधनका लागि विधेयक तयारीको क्रममा रहेको बताए । उनले १८ वर्षमा विवाहयोग्य उमेर तोक्ने वा अन्तर्राष्ट्रिय अभ्यासअनुसार ‘रोमियो जुलियट ल’ लागू गर्ने भन्नेबारे सरकार निर्णयमा पुग्न लागेको उल्लेख गरे ।

‘रोमियो जुलियट ल’ अन्तर्गत १६ देखि १८ वर्ष उमेर समूहका प्रेम सम्बन्धलाई कानुनी मान्यता दिने अभ्यास विभिन्न देशमा भएको बताउँदै उनले नेपालमा पनि त्यसबारे छलफल भइरहेको बताए । 

‘यदि १८ वर्ष उमेर तोकिन्छ भने, १६ र १८ वर्षबीचको उमेरका व्यक्तिहरूबीचको सम्बन्धलाई रेपका रूपमा लिन नपर्ने कानुनी आधार तयार गरिन सक्छ,’ उनले भने।

त्यस्तै, गृहमन्त्री लेखकले हिरासत तथा कारागार सुधारका लागि सरकारले गम्भीर पहल गर्ने बताए । उनले थुनुवा तथा कैदीबन्दीहरूको मानवअधिकार रक्षा सरकारले गर्ने प्रतिबद्धता व्यक्त गर्दै कुनै पनि प्रकारको मानवअधिकार हनन नहुने ग्यारेन्टी दिए ।

‘हिरासतमा रहेका मानिसहरूमाथि कुनै अमानवीय व्यवहार हुन दिइने छैन । कारागारको भौतिक सुधार र नयाँ कारागार निर्माणको योजना अघि बढिरहेको छ,’ उनले भने । कानुन समितिले स्थलगत अध्ययन गरेर दिएको प्रतिवेदनका आधारमा हिरासत सुधारका लागि सरकारले गम्भीरतापूर्वक काम गर्ने पनि गृहमन्त्री लेखकले प्रतिबद्धता जनाए ।

प्रकाशित मिति : ९ चैत्र २०८१, आइतबार  ११ : ३७ बजे