शुक्रबार तीनकुनेलगायतका क्षेत्रमा भएको हिंसामा आरोपित राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणासहित ४१ जनालाई प्रहरीले पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति पाएको छ ।
जिल्ला अदालत काठमाडौँकी न्यायाधीश तारादेवी महर्जनको इजलासले उनीहरूलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । पक्राउ परेका मिश्र र राणासहित ११ जनालाई राज्यविरुद्धको कसुरमा समेत अनुसन्धान गरिने बताइएको छ ।
अन्यलाई भने आपराधिक उपद्रव र संगठित अपराधको कसुरमा मात्र अनुसन्धान अघि बढाएको छ । शुक्रबार साँझ नै पक्राउ परेका अधभिबक्ता स्वागत नेपाललाई भने हाजिरी जमानीमाा छाडिएको छ । उनी प्रदर्शनस्थलमा उपस्थित नभएको भनेर छाडिएको हो ।
यसैबीच आइतवार थप तीन जनालाई पक्राउ गरिएको जनाएको छ । पक्राउ पर्नेमा उक्त हिंसात्म प्रदर्शनका मुख्य आरोपित दुर्गा प्रसाईंले गठन गरेको सुरक्षा दस्ताका सहसंयोजक र महासचिवसहित तीन जना रहेका छन् ।
पक्राउ पर्नेमा पीडीएफ सहसंयोजक गोपाल बोहरा, महासचिव दानवीर न्यौपाने र एटीएफका केन्द्रीय सदस्य अनिल थापा रहेको प्रहरीले जनाएको छ । यसअघि १११ जनालाई पक्राउ गरिएकझ प्रहरीले जनाएको थियो । कमाण्डर तोकिएका दुर्गा प्रसाई भने फरार छन् । उनले आइतवार एक भिडियो सार्वजनिक गर्दै आफु काठमाडौंमै रहेको र कुनै मन्दिरमा सुरक्षित रहेको बताएका छन् ।
राजतन्त्र र हिन्दू अधिारज्यको पुनस्थापनाको माग राखेर आयोजना गरिएको उक्त प्रदर्शन भड्किंदा एक पत्रकारसहित दुई जनाको मृत्यु भयो भने दर्जनौ घाइते भएका छन् । अराजक प्रदर्शनकारीले सरकारी कार्यालयहरु, निजी व्यापारिक प्रतिष्ठानहरु, मिडिया हाउस, सवारी साधनलगायतमा तोडफोड, आगजनी तथा लुटपाट समेत गरेको थियो ।









