२५ फाल्गुन २०८२, सोमबार | Tue Mar 10 2026

नेजाले मनायो १८औं स्थापना दिवस



भर्जिनिया (अमेरिका) । नेपाल अमेरिका पत्रकार संघ (नेजा)ले उत्तर अमेरिकाको भर्जिनियामा आफ्नो १८औं स्थापना दिवस मनाएको छ । सन् २००७ अप्रिल २१ र २२ मा भर्जिनियाको आर्लिङ्टनमा पहिलो अधिवेशन सम्पन्न गरेसँगै नेजाले अप्रिल २१ लाई आफ्नो स्थापना दिवसको रुपमा मनाउँदै आएको छ । २०२५ अप्रिल २० शनिबार १८औं वर्ष पार गरेको अवसरमा भर्जिनियामा स्थापना दिवस मनाएको हो ।

सन् २००७ मा गिरीश पोखरेलको अध्यक्षतामा गठन भएको नेजाले १८औं वर्ष अवधिमा उत्तर अमेरिकामा रहेका नेपाली पत्रकारहरुलाई संगठित गर्दै नेपाल पत्रकार महासंघसँगको समन्वयमा पत्रकारिता पुरस्कार स्थापना, पत्रकारको लेखनवृत्ति, क्षमता विकास र हकहितका लागि विभिन्न योजना कार्यान्वयनसँगै र सामाजिक कार्यमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ ।

नेजा अध्यक्ष सुरज भण्डारीको अध्यक्षता एवम् नेपाली दूतावासको कार्यालय वासिङ्टन डीसी नियोग उपप्रमुख शरदराज आरनको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् अमेरिकाका अध्यक्ष डा. अर्जुन बन्जाडे, नेजाका संस्थापक अध्यक्ष गिरीश पोखरेल, पूर्वअध्यक्ष भोला आचार्य, पूर्वकार्यबाहक अध्यक्ष कृष्ण शर्मा र मानार्थ सदस्य योगेश उपाध्यायले नेजाको भूमिका एवम् योगदानबारे चर्चा गरेका थिए । नेजाका संस्थापक अध्यक्ष गिरीश पोखरेलले अमेरिका रहेका नेपाली पत्रकारलाई संगठित गर्ने र भाइचाराको सम्बन्ध गाँस्ने उद्देश्यले नेजा स्थापनाको परिकल्पना गरिएको बताए । उनीहरुले नेजा स्थापनाताका भोगेका समस्या र अप्ठ्याराहरुको स्मरण गर्दै नेजाको स्थापनाकालमा सहयोग पुर्याउनेप्रति आभार समेत व्यक्त गरे ।

कार्यक्रममा नेपाली दूतावासको कार्यालय वासिङ्टन डीसी नियोग उपप्रमुख शरदराज आरनले दूतावास अमेरिकामा रहेका नेपाली पत्रकारसँग हरपल समन्वय एवम् सहकार्य गर्न तत्पर रहेको बताए । उनले सूचना संप्रेषण र पत्रकारका लागि आवश्यक सूचना प्रवाहका लागि दूतावासले भूमिका निर्वाह गरिरहेको दाबीसमेत गरे । ‘नेजा स्थापनाको शुभकामनासँगै आगामी दिनमा थप नयाँ कार्यक्रमका लागि यहाँहरुको भूमिका महत्त्वपूर्णसमेत रहने विश्वास व्यक्त गर्दछु ।’

कार्यक्रममा नेजाका अध्यक्ष सुरज भण्डारीले उत्तर अमेरिकामा रहेका नेपाली समुदायको हितमा पत्रकारितामार्फत सेवा पुर्याउने र उत्तर अमेरिकामा रहेका नेपाली पत्रकारको हितमा काम गर्दै आएको बताए । आगामी दिनमा आफ्नो पेसाप्रति जिम्मेवार बनेर नेजा अघि बढ्नुपर्ने र सोहीअनुसार नेजा अगाडि बढेको पनि अध्यक्ष भण्डारीले जानकारी दिए ।

कार्यक्रममा एनआरएनए अमेरिका र नेजाबीच समझदारी पत्रमा हस्ताक्षर गरिएको थियो । नेजा एनआरएनए पत्रकारिता सम्मान र नेजा एनआरएनए बहस आयोजनालगायत कार्यक्रम संयुक्त अघि बढाउने उद्देश्यका साथ समझदारी पत्रमा हस्ताक्षर भएको हो । समझदारी पत्रमा एनआरएनए र नेजाबीच हस्ताक्षर भएसँगै सम्झौता कार्यान्वयनको चरणमा अघि बढेको कार्यक्रम सञ्चालन गर्दै नेजाका महासचिव बाबुराम दाहालले जानकारी दिए ।

आफ्नो १८औं स्थापना दिवसको अवसरमा नेजाले अमेरिकाको नर्थ क्यारोलाइनास्थित नेपाली समुदायद्वारा सञ्चालित आरम्भ पुस्तकालयलाई पत्रकारहरुद्वारा लिखित १८ वटा पुस्तक सहयोगस्वरुप हस्तान्तण गरेको थियो ।

नेजाका संस्थापक तथा सीटी अफ इन्डियाना हेड उपमेयर किरण सिटौला, एसोसिएसन अफ नेप्लिज् इन अमेरिकाका अध्यक्ष डा. खगेन्द्र अधिकारी, युनाइटेड नेपाली पोलिटिकल एक्सन कमिटीका अध्यक्ष एड्रीन पोखरेल, एभरेस्ट फेडेरल क्रेडिट युनियनका प्रमुख कार्यकारी अधिकृत सुमन तिमल्सिना, एनआरएनए अमेरिकाका महिला संयोजक सुनिता खत्री, एनआरएनए भर्जिनिया च्याप्टरका अध्यक्ष विशाल कार्कीलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

नेजाका उपाध्यक्ष सुजन पण्डितको स्वागत र डिसी मेट्रो क्षेत्रका क्षेत्रीय संयोजक सिर्जना काफ्लेको धन्यवाद मन्तव्य रहेको कार्यक्रममा एनआरएनए चाइनाका पूर्वअध्यक्ष प्रदीप न्यौपाने, एनआरएनए अमेरिका मिडिया कोर्डिनेटर सतीश चापागाईं, एर्टोनी निरन्जन अधिकारी, सिटी अफ हेमार्केटका पूर्वकाउन्सिल म्यान मधु पन्थी, समाजसेवी एवम् अग्रज पत्रकार जितमान बस्नेत, राष्ट्रिय लोकदोहारी प्रतिष्ठानका कोषाध्यक्ष अमृत अधिकारी, पत्रकारहरू सम्झना नेपाल, लीलादेवी ओझा, लेखनाथ भण्डारी, विष्णु शितल, ज्योति देवकोटा, सुदीप सिवाकोटी, विश्वराज थापा, बाबु खरेललगायत नेजाका अग्रज, सदस्य एवं समाजसेवीको उपस्थिति थियो ।

प्रकाशित मिति : ९ बैशाख २०८२, मंगलबार  ९ : ४७ बजे