३ असार २०८३, बुधबार | Wed Jun 17 2026

रवीन्द्र मिश्रसहित २५ जनालाई थप ७ दिन हिरासत



राजावादीको आन्दोलन भड्काएर हिंसात्मक बनाएको आरोप लागेका राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रसहित २५ जनालाई काठमाडौं जिल्ला अदालतले थप ७ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

गत चेत १५ गते राजावादीले गरेको प्रदर्शन भड्किएर हिंसात्मक बन्दा दुई जनाको ज्यान गएको थियो भने करोडौंको सम्पति तोडफोड तथा आगजनी गरिएको थियो ।

उक्त दिनको प्रदर्शनलाई भड्काएको तथा हिंसामा संलग्न भएको भन्दे राप्रपा वरिष्ठ उपाध्यक्ष मिश्र र मेडिकल व्यवसायीसमेत रहेका ‘संयुक्त जनआन्दोलन समिति’ ले तोकेका ‘जनकमान्डर’ दुर्गा प्रसाईंसहित २५ जनामाथि राज्यविरूद्धको कसुर र संगठित अपराध कसुरमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

आइतबार सरकारी वकिलले उनीहरूलाई थप म्याद माग गर्दै जिल्ला अदालतका न्यायाधीश ईश्वरीप्रसाद भण्डारीको इजलासमा पेस गरेमा सात दिनको म्याद पाएको हो । यसअघि चैत १० गते न्यायाधीश ध्रुवराज कार्कीको इजलासले उनीहरुलाई तीन दिन म्याद थपेको थियो ।

बहसका क्रममा सरकारी वकिलले अनुसन्धानको क्रममा बुँदागत रूपमा प्रमाण संकलन गर्नुपर्ने विषयवस्तुहरू खुलाएपछि भण्डारी इजलासले सात दिन म्याद थपेको उल्लेख छ ।

मिश्रका वकिल वरिष्ठ अधिवक्ता राजु बस्नेतका अनुसार सरकारी वकिलले प्रसाईंको हकमा ज्यान मार्ने उद्योग, आगजनीलगायत कसुरमा अनुसन्धान भइरहेको, क्षतिको विवरण संकलन गर्नुपर्ने, मोबाइल फरेन्सिक ल्याबमा पठाएको रिपोर्ट आउन बाँकी रहेकाबारे इजलासमा प्रस्तुत गरेका थिए ।

इजलासले रवीन्द्र मिश्रसहित २५ जनाकै हकमा माग गरिएको पत्रमा स्पष्ट र बुँदागत रूपमा मुद्दामा अनुसन्धान गर्नुपर्ने विषयवस्तु खुलाएको आदेशमा उल्लेख गरेको छ । त्यसकारण थप सात दिनको म्याद दिइएको भनिएको छ ।

राप्रपाका महामन्त्री धवल शमसेर राणा भने यसअघि नै उपचारको लागि भनेर हाजिरी जमानीमा छुटिसकेका छन् ।

प्रकाशित मिति : १६ बैशाख २०८२, मंगलबार  ९ : ५५ बजे