२७ फाल्गुन २०८२, बुधबार | Thu Mar 12 2026

पत्रकार पाठकलाई २५ हजार धरौटी



पत्रकार दिलभूषण पाठकलाई जिल्ला अदालत काठमाडौंले २५ हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ । न्यायाधीश खेमराज भट्टको इजलासले साइबर अपराधसम्बन्धी मुद्दामा सुनुवाइ गर्दै आज धरौटीमा छाड्ने आदेश दिएको हो ।

पाठकविरुद्ध साइबर अपराधसम्बन्धी उजुरीका आधारमा प्रहरीले अनुसन्धान अघि बढाएपछि उनी बिहीबार अदालतमा उपस्थित भएका थिए । अदालतमा आजै थुनछेक बहस सम्पन्न भएको थियो । त्यसपछि अदालतले उनलाई धरौटीमा रिहा गर्ने निर्णय गरेको हो ।

सरकारी पक्षबाट सहायक जिल्ला न्यायाधिवक्ता पूर्णेन्द्र पाण्डेयले पेश गरेको अभियोग पत्रमा पत्रकार पाठकमाथि विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ अनुसार विद्युतीय माध्यमबाट गैरकानुनी सामग्री प्रकाशन गरेको अभियोग लगाइएको छ । सो कसुरमा अधिकतम एक लाख रुपैयाँ जरिवाना वा पाँच वर्षसम्म कैद वा दुवै सजायको व्यवस्था छ ।

पाठकले यूट्यूवमा चलाउने कार्यक्रम ‘टफ टक’ मार्फत ‘हिल्टनमा जयवीर देउवाको पैसा’ शीर्षकमा रिपोर्ट सार्वजनिक गरेका थिए। उक्त रिपोर्टमा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री आरजु राणा देउवाका छोरा जयवीरसिंह देउवा हिल्टन होटलको सेयर खरिदबिक्रीमा संलग्न भएको दाबी गरिएको थियो ।

यसै विषयलाई लिएर जयवीरले पत्रकार पाठकमाथि चरित्र हत्या गरेको आरोप लगाउँदै साइबर ब्युरोमा उजुरी दिएका थिए । सोही उजुरीका आधारमा जिल्ला सरकारी वकिलको कार्यालयले सोमबार अदालतमा मुद्दा दायर गरेको हो । मुद्दा दायर गर्ने क्रममा सरकारी वकिलले पाठकलाई फरार अभियुक्तको सूचीमा समेत राखेको थियो ।

यसअघि उच्च अदालत पाटनले पत्रकार पाठकलाई पक्राउ नगर्न आदेश दिएको थियो ।

प्रकाशित मिति : १९ असार २०८२, बिहिबार  १० : ५१ बजे