३ बैशाख २०८३, बिहिबार | Thu Apr 16 2026

सार्वजनिक ऋण २९ खर्ब नाघ्यो, प्रतिव्यक्ति भार १ लाखभन्दा बढी



नेपाल सरकारको सार्वजनिक ऋण २९ खर्ब नाघेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमासिक (साउन–चैत) सम्म कुल सार्वजनिक ऋण २९ खर्ब ३३ अर्ब ७९ करोड ४६ लाख रुपैयाँ पुगेको हो ।

कार्यालयका अनुसार कुल ऋणमध्ये आन्तरिक ऋण १३ खर्ब ८८ अर्ब ११ करोड र बाह्य ऋण १५ खर्ब ४५ अर्ब ६७ करोड रुपैयाँ रहेको छ । पछिल्लो ९ महिनामै सरकारले ३ खर्ब ४८ अर्ब १५ करोड रुपैयाँ बराबर ऋण थपेको छ ।

विनिमय दरमा आएको उतारचढावका कारण नेपाली मुद्रा कमजोर हुँदा मात्रै बाह्य ऋणमा १ खर्ब १५ अर्ब ७५ करोड रुपैयाँ बराबर थप भार परेको देखिएको छ । चालु आव सुरु हुनु अघि २६ खर्ब ७४ अर्ब रुपैयाँ रहेको सार्वजनिक ऋण अहिले साढे २९ खर्ब नजिक पुगेको हो ।

जनसंख्या अनुसार हिसाब गर्दा एक नेपालीको टाउकोमा औसत १ लाख ५ सय ९४ रुपैयाँ सार्वजनिक ऋण परेको छ । कुल ऋणमध्ये ५२.६९ प्रतिशत बाह्य र ४७.३१ प्रतिशत आन्तरिक ऋणको हिस्सा रहेको छ ।

नेपालको कुल गार्हस्थ उत्पादन (जीडीपी) को आधारमा सार्वजनिक ऋण ४८.०४ प्रतिशत पुगेको छ । यसमध्ये आन्तरिक ऋण २२.७३ प्रतिशत र बाह्य ऋण २५.३१ प्रतिशत रहेको छ ।

सरकारले चालु आर्थिक वर्षमा ५ खर्ब ९५ अर्ब ऋण उठाउने लक्ष्य राखेकोमा चैतसम्म ३ खर्ब ४८ अर्ब १५ करोड रुपैयाँ (५८.४५ प्रतिशत) उठाइसकेको छ ।
यस अवधिमा आन्तरिक ऋण २ खर्ब ८३ अर्ब ६६ करोड (७८.३६ प्रतिशत) र बाह्य ऋण ६४ अर्ब ४८ करोड (२७.६० प्रतिशत) संकलन गरिएको छ ।

चालु आवको ९ महिनामा सरकारले ऋणको साँवा–ब्याज भुक्तानीमा २ खर्ब ५८ अर्ब ४४ करोड रुपैयाँ खर्च गरेको छ, जुन वार्षिक बजेटको ६२.८८ प्रतिशत हो ।
कुल साँवा भुक्तानी २ खर्ब ४ अर्ब र ब्याज भुक्तानी ५४ अर्ब २७ करोड रुपैयाँ पुगेको छ ।

विज्ञहरूले अहिलेको अवस्थालाई “ऋणको चक्रव्यूह” का रूपमा व्याख्या गरेका छन् । उठाइएको ऋणकै साँवा–ब्याज तिर्न पुनः ऋण लिनुपर्ने अवस्था देखिएको छ ।

प्रकाशित मिति : ३ बैशाख २०८३, बिहिबार  १० : २५ बजे