२५ जेष्ठ २०८३, सोमबार | Mon Jun 8 2026

रसुवामा आएको विनाशकारी बाढी हिमताल विस्फोटकै कारण भएको प्रारम्भिक निष्कर्ष



गत मङ्गलबार बिहान रसुवास्थित नेपाल–चीन सीमाको ल्हेन्दे खोलामा आएको भीषण बाढी हिमताल विस्फोट (ग्लेसियल लेक आउटबर्स्ट फ्लड) का कारण भएको प्रारम्भिक निष्कर्ष जल तथा मौसम विज्ञान विभागले निकालेको छ ।

विभागले ‘सेन्टिनेल’ भू–उपग्रहमार्फत प्राप्त चित्र विश्लेषण गरी ल्हेन्दे खोलाको माथिल्लो क्षेत्रमा रहेको सुप्राग्लेशियल (हिमनदीको माथिल्लो सतहमा रहेको) ताल विस्फोट भएर बाढी आएको जनाएको हो । विभागका बाढीविद् विनोद पराजुलीका अनुसार बाढीअघि करिब ०.७५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको हिमताल बाढीपछि ०.६० वर्ग किलोमिटरमा खुम्चिएको छ । “तालको आकारमा आएको परिवर्तनले पानीको निकास र त्यसको प्रभाव देखाउँछ,” पराजुलीले भनेका छन् ।

रसुवागढीस्थित नेपाल–चीन सीमाबाट करिब ३६ किलोमिटरमाथि, समुद्री सतहबाट ५१५० मिटर उचाइमा रहेको उक्त तालबाट अचानक पानी निस्केर ल्हेन्दे खोला हुँदै भोटेकोसीमा बग्दा ठूलो बाढी आएको विभागको प्रारम्भिक अध्ययनबाट देखिएको छ ।

यसैबीच, अन्तरराष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) का वैज्ञानिकहरुले पनि सुप्राग्लेशियल ताल फुटेकै कारण बाढी आएको पुष्टि गरेका छन् । यद्यपि, विभागले अझै चीनबाट प्राप्त हुने स्थलगत रिपोर्ट र थप भू–उपग्रह तस्बिरबाट थप पुष्ट्याइँ हुने बताएको छ ।

मंगलबार गएको बाढीले ठूलो जनधनको क्षति पुर्‍याएको छ । बाढीमा फसेका ५५ जनाको नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको सहयोगमा सकुशल उद्धार गरिएको थियो भने १८ जना अझै बेपत्ता रहेका मध्ये केहीको शब भेटिएको छ ।

बेपत्ता हुनेमा रसुवागढी भन्सार यार्डमा कार्यरत ९ नेपाली र ६ चिनियाँ नागरिक थिए । साथै, इलाका प्रहरी कार्यालय टिमुरेमा खटिएका प्रहरी सहायक निरीक्षक लालबहादुर श्रेष्ठ (रामेछाप) तथा प्रहरी जवानहरु मुन्ना ठाकुर (बारा) र लोकेन्द्र बोहोरा (बझाङ) पनि बेपत्ता थिए ।

बेपत्ता हुने सर्वसाधारणमा बर्दियाका जिपन चौधरी, सन्तोष दइत, बुद्धिराम थारु, लक्ष्मीनारायण थारु, सुरेश थारु, बागलुङका नरेन्द्र विक, सिन्धुपाल्चोकका फुर्वा लामा (कन्टेनर चालक), गोविन्द मोक्तान (मिक्सचर चालक) र लोकमान तामाङ (हाइलक्स चालक) छन्। बेपत्ता चिनियाँ नागरिकहरूमध्ये यु युए, लि हुक्वाइङ, याङ चुआन, यु हाइ हाङ, यु छिआओ कुई र जोउ योङ रहेका थिए ।

त्यसैगरी बाढीले नेपाल–चीन जोड्ने मितेरी पुल, भोटेकोसी किनारमा रहेका करिब १०० सवारीसाधन र त्रिशूली नदीको बेलीब्रिज बगाएको पुष्टि भएको थियो । भर्खरै निर्माण गरिएको पक्की पुलमा लेदो जमेको छ भने त्रिशूली थ्रिए जलविद्युत आयोजनाको बाँधमा पनि क्षति पुर्याएको छ ।

प्रकाशित मिति : २६ असार २०८२, बिहिबार  ५ : २६ बजे